चाँगुनारायणमा वैशाख ६ गतेबाट कक्षा सञ्चालन गर्ने निर्णय

भक्तपुर, वैशाख ४ – चाँगुनारायण नगरपालिकाले वैशाख ६ गतेदेखि नगरभित्रका सम्पूर्ण विद्यालयमा नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।

नगर शिक्षा समितिको निर्णयअनुसार विद्यालयहरू पूर्वनिर्धारित शैक्षिक क्यालेन्डरअनुसार सञ्चालन गरिनेछ। संघीय सरकारको शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने निर्देशन भए पनि स्थानीय स्तरमा पठनपाठन ढिलो हुन नदिन नगरपालिकाले वैशाख ६ बाट नै कक्षा सुरु गर्ने निर्णय गरेको हो।

विद्यार्थीको पठनपाठनमा असर नपरोस् र शैक्षिक क्रेडिट आवर पूरा गर्न सहज होस् भन्ने उद्देश्यले यो निर्णय गरिएको हो।

यसअघि भक्तपुर जिल्लाका अन्य स्थानीय तहमा पनि आइतबार विद्यालय सञ्चालन वा क्यालेन्डरअनुसार कक्षा सञ्चालन सम्बन्धी निर्णयहरू गरिएको छ।

यससँगै चाँगुनारायणका विद्यालयहरू वैशाख ६ गतेदेखि नियमित रूपमा सञ्चालनमा आउने भएका छन्।