भक्तपुर, असार १९ — चाँगुनारायण नगरपालिका अन्तर्गत सञ्चालित स्वास्थ्य चौकीहरूले न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट नतिजा हासिल गरेका छन्।

स्वास्थ्य सेवा प्रवाहको गुणस्तर, संस्थागत व्यवस्थापन, सेवा उपलब्धता तथा समग्र कार्यसम्पादनका आधारमा गरिएको मूल्याङ्कनमा नगरपालिकाका पाँच स्वास्थ्य चौकीले उच्च अंक प्राप्त गर्दै उत्कृष्टता हासिल गरेका हुन्।

मूल्याङ्कनअनुसार छालिङ स्वास्थ्य चौकीले ९९ प्रतिशत अंक प्राप्त गरी प्रथम स्थान हासिल गरेको छ। त्यसैगरी ताथली स्वास्थ्य चौकी र दुवाकोट स्वास्थ्य चौकी–२ ले ९८ प्रतिशत अंकसहित संयुक्त रूपमा दोस्रो स्थान प्राप्त गरेका छन्। नगरकोट स्वास्थ्य चौकी र बागेश्वरी स्वास्थ्य चौकीले ९३ प्रतिशत अंकसहित संयुक्त रूपमा तेस्रो स्थान हासिल गरेका छन्।

यस उपलब्धिसँगै चाँगुनारायण नगरपालिकाले स्वास्थ्य सेवा प्रवाहको गुणस्तर सुधार, प्रभावकारी व्यवस्थापन तथा नागरिकलाई सहज, गुणस्तरीय र उत्तरदायी स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ।
