सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा सूचीकरण गर्न चाँगुनारायण नगरपालिकाको आग्रह

भक्तपुर, १ साउन : चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा सूचीकरण गर्न आग्रह गरेको छ।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार लाभग्राहीले आफ्नो वडा कार्यालयमा स्वयं उपस्थित भई राष्ट्रिय परिचयपत्रमा आधारित बायोमेट्रिक प्रमाणीकरण (जैविक विवरण) गरी सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा सूचीकरण गराउनुपर्नेछ।

नगरपालिकाले नवीकरणका लागि लाभग्राहीको वर्गअनुसार आवश्यक कागजातसहित उपस्थित हुन अनुरोध गरेको छ। आवश्यक कागजातमा नेपाली नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र नम्बर तथा सम्बन्धित वर्गअनुसार आवश्यक प्रमाणपत्र (मृत्यु दर्ता, सम्बन्ध विच्छेद, अविवाहित, अपाङ्गता परिचयपत्र, जन्मदर्ता, संरक्षकको नागरिकता आदि) समावेश छन्।

नगरपालिकाले तोकिएको समयभित्र नवीकरण नगरेमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न समस्या हुन सक्ने जनाएको छ। त्यसैले सबै लाभग्राहीलाई समयमै आफ्नो वडा कार्यालयमा पुगेर आवश्यक प्रक्रिया पूरा गर्न नगरपालिकाले अनुरोध गरेको छ।