चाँगुनारायण, १ साउन २०८३ : चाँगुनारायण नगरपालिका–७ को सद्भाव चोकदेखि पाइपलाइन सडक तथा वडा नं. ५ को ब्यारेकदेखि वडा कार्यालय जाने सडक लामो समयदेखि अलपत्र पर्दा स्थानीयवासीले सास्ती खेप्दै आएका छन्। वर्षायाममा सडक हिलाम्मे र जोखिमपूर्ण बनेपछि समस्या समाधानका लागि नगर प्रमुख जीवन खत्रीले काठमाडौं उपत्यका विकास प्राधिकरणसँग सक्रिय पहल गर्नुभएको छ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले ठेक्का सम्झौतामार्फत निर्माण सुरु गरेको यी सडकले अपेक्षित गति लिन नसक्दा स्थानीयवासीले दैनिक आवतजावतमा कठिनाइ भोगिरहेका छन्।

यसै विषयलाई लिएर नगर प्रमुख खत्रीले काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख अधिकारीहरूसँग स्थानीय र जनप्रतिनिधिसहित डेलिगेसन गएर निर्माण कार्य तत्काल अघि बढाउन आग्रह गर्नुभएको छ । सो क्रममा वडा नं. ७ का वडा सदस्य श्यामकाजी नयाँजु तथा वडा नं. ५ का वडा सदस्य सुरेश कार्की र प्रभुराम थापाको समेत सहभागिता रहेको थियो।

नगर प्रमुख खत्रीले “यदि सडक निर्माण गर्न सकिँदैन भने त्यसको कारण सम्बन्धित निकायले जनतालाई स्पष्ट रूपमा बताउनुपर्छ। काम सुरु गरेर वर्षौंसम्म अलपत्र छाड्ने र त्यसको अपजस स्थानीय सरकारले बोकिरहनुपर्ने अवस्था अब स्वीकार्य छैन,” भन्दै कडा असन्तुष्टि व्यक्त गर्नुभयो।

उहाँले निर्माण कार्य नहुँदाको गाली, आलोचना र जनअसन्तुष्टि स्थानीय सरकारले व्यहोर्नुपरेको उल्लेख गर्दै वास्तविक जिम्मेवार निकायले आफ्नो दायित्वबाट पन्छिन नहुने बताउनुभयो।

वर्षायामका कारण सडकमा पानी जमेर हिलाम्मे बनेको, पैदलयात्रु, विद्यार्थी, ज्येष्ठ नागरिक तथा सवारीसाधन सञ्चालनमा समेत समस्या भएको भन्दै स्थानीयवासीको पीडाप्रति नगरपालिकाले गम्भीर चासो दिएको उहाँको भनाइ थियो।

नगर प्रमुख खत्रीले चाँगुनारायण नगरपालिका आफ्नै स्रोतबाट करिब कमलविनायक- नगरकोटको १७ किलोमिटर सडक निर्माण सम्पन्न गरिसकेको उल्लेख गर्दै नगरपालिकामा क्षमता र इच्छाशक्तिको अभाव नरहेको स्पष्ट पार्नुभयो। उहाँले यी सडक नगरपालिकाको कमजोरीका कारण नभई काठमाडौं उपत्यका विकास प्राधिकरणको ढिलासुस्तीका कारण अलपत्र परेको बताउनुभयो।

उहाँले “सम्बन्धित निकायले असल नियतका साथ काम गर्ने हो भने बढीमा दुई महिनाभित्र यी सडकको निर्माण सम्पन्न गर्न सकिन्छ,” भन्दै निर्माण कार्यलाई थप अलपत्र पारेर स्थानीयलाई दुःख दिने कार्य सह्य नहुने चेतावनी दिनुभयो।
नगर प्रमुख खत्रीले निर्माणका क्रममा कुनै प्राविधिक, प्रशासनिक वा कानुनी समस्या भए त्यसको समाधानका लागि आवश्यक समन्वय गर्न तथा माथिल्लो निकायमा दबाब दिन चाँगुनारायण नगरपालिका पूर्ण रूपमा तयार रहेको स्पष्ट पार्नुभयो। तर, कुनै ठोस कारणबिना सुरु भइसकेको सडकलाई वर्षौंसम्म अधुरै छाड्ने प्रवृत्ति अब स्वीकार्य नहुने उहाँले बताउनुभयो।
यसैबीच, नगर प्रमुख खत्रीले काठमाडौं उपत्यका विकास प्राधिकरणका नवनियुक्त विकास आयुक्त सुरज शाक्यसँग भएको छलफल सकारात्मक रहेको जानकारी दिनुभयो।
उहाँका अनुसार विकास आयुक्त सुरज शाक्यले एक साताभित्र सम्बन्धित सडक क्षेत्रमा स्वयं पुगेर स्थलगत निरीक्षण गर्ने, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गर्ने र कानुनी तथा ठेक्का व्यवस्थापनसम्बन्धी विषयको अध्ययन गरी निर्माण कार्यलाई तत्काल अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उक्त सडक निर्माणका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा रु. १३ करोड तथा आर्थिक वर्ष २०८२/८३ मा रु. १८ करोड गरी कुल रु. ३१ करोड बजेट विनियोजन गरेको थियो। बजेट विनियोजन र ठेक्का प्रक्रिया सम्पन्न भइसके पनि निर्माण कार्यले अपेक्षित गति लिन नसक्दा सडक अझै अलपत्र अवस्थामा रहेको छ।
नगर प्रमुख खत्रीले अब थप ढिलाइ नगरी निर्माण कार्य तत्काल सुरु गरी स्थानीय नागरिकको वर्षौंदेखिको सास्ती अन्त्य गर्न सम्बन्धित निकायसँग पुनः आग्रह गर्नुभएको छ।

