चाँगुनारायण नगरसभाको दोस्रो बैठक सम्पन्न, सार्वजनिक महत्त्वका प्रस्ताव संशोधनसहित अधिकांश निर्णय सर्वसम्मत पारित

भक्तपुर, ३१ असार २०८३ : चाँगुनारायण नगरपालिकाको १८औँ नगरसभाको दोस्रो बैठक नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा सम्पन्न भएको छ।

बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत बजेटमाथि विस्तृत छलफल गरिएको थियो। साथै विभिन्न विषयगत समितिका प्रतिवेदन प्रस्तुत गरिनुका साथै विभिन्न ऐन, विधेयक तथा अन्य प्रस्तावहरूमाथि समेत छलफल भएको थियो।

नगरसभाबाट बजेटसहित सार्वजनिक महत्त्वका विभिन्न प्रस्ताव संशोधनसहित अधिकांश निर्णय सर्वसम्मत रूपमा पारित भएका छन्।

पारित निर्णयअनुसार नगरवासीलाई निःशुल्क मोतियाबिन्दुको आँखाको शल्यक्रिया (अपरेसन) सेवा उपलब्ध गराइने भएको छ। बर्ड फ्लुबाट प्रभावित कृषक तथा व्यवसायीलाई राहत उपलब्ध गराउने निर्णय पनि नगरसभाले गरेको छ।

त्यसैगरी, आइतबार विद्यालय तथा स्वास्थ्य संस्था सञ्चालन गर्न संघीय सरकारसमक्ष अनुरोध गर्ने निर्णय समेत नगरसभाले पारित गरेको छ।

नगरपालिकाले यी निर्णयहरू जनहित, सेवा प्रवाहमा सुधार, सुशासनको प्रवर्द्धन तथा नगरको समग्र विकासलाई केन्द्रमा राखेर गरिएको जनाएको छ।

नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा बसेको नगरसभामा उपप्रमुख रमेश बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ, वडाध्यक्षहरू, नगरसभा सदस्यहरू, विषयगत समितिका पदाधिकारी, नगरपालिकाका कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।