भक्तपुर, जेठ २९ । चाँगुनारायण नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।

बिहीबार आयोजित कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको हो।

घोषणासँगै नगर प्रमुख खत्रीले आगामी वर्षहरूमा पनि पूर्ण खोप सुनिश्चितता कायम राख्दै कार्यक्रमको दिगोपना सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयकी प्रमुख अञ्जना खड्का, नगर स्वास्थ्य शाखा प्रमुख डा. दिलकुमार दुवाल, नगर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अर्जुन कार्की, विभिन्न स्वास्थ्य संस्थाका प्रमुख, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

नगरपालिकाका सबै वडामा पूर्ण खोप सुनिश्चितता कार्यक्रम सम्पन्न भएपछि चाँगुनारायणलाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।

यससँगै चालु वर्षमा भक्तपुर जिल्लामै पहिलोपटक चाँगुनारायण नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने स्थानीय तह बनेको छ।








