खरीपाटी बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समिति दर्ता प्रक्रिया सुरु, १५ दिनभित्र उजुरी वा सुझाव दिन सकिने

भक्तपुर, साउन ११ : चाँगुनारायण नगरपालिकाले वडा नं. ६ र ७ स्थित खरीपाटी बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समिति दर्ता प्रक्रियाबारे सार्वजनिक सूचना जारी गर्दै सरोकारवाला सबै पक्षसँग राय, सुझाव तथा उजुरी माग गरेको छ।

नगरपालिकाका अनुसार समितिका अध्यक्ष चन्द्रबहादुर भुजेलले मिति २०८३ साउन ११ गते समितिको नाममा सामुदायिक वनभित्र रहेको मूल/पानीको स्रोत दर्ताका लागि निवेदन दिएका छन्। सोही निवेदनका आधारमा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति व्यवस्थापन कार्यविधि, २०७५ बमोजिम समिति दर्ता प्रक्रिया अघि बढाइएको हो।

नगरपालिकाले उक्त समितिको नाममा मूलसहित दर्ता हुने प्रस्ताव रहेकाले यसबाट स्थानीय बासिन्दा, उपभोक्ता, विद्यालय, सार्वजनिक निकाय, संघ–संस्था, धार्मिक क्षेत्र तथा अन्य सरोकारवालामा कुनै असर पर्ने वा नपर्ने विषयमा प्रमाणसहित आफ्नो धारणा पेश गर्न आग्रह गरेको छ।

सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित वडा कार्यालय वा चाँगुनारायण नगरपालिकामा आवश्यक प्रमाण र कागजातसहित निवेदन, सुझाव वा उजुरी दर्ता गराउन सकिने नगरपालिकाले जनाएको छ।