चाँगुनारायण नगरपालिका क्षेत्रभित्र कक्षा ६ मा अध्ययनरत छात्रालाई लक्षित गरी विद्यालयमै एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ। नगरपालिकाले माघ २६ गतेदेखि फागुन १ गतेसम्म विद्यालय केन्द्रित खोप कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो।
नगरपालिकाभरिका ४४ विद्यालयमा अध्ययनरत कक्षा ६ का छात्रा तथा गत वर्ष खोप छुटेका छात्रासमेत गरी कुल ८३० जनालाई खोप लगाइनेछ। तीमध्ये यस वर्ष कक्षा ६ मा अध्ययनरत ५९४ जना र गत वर्ष खोप छुटेका हाल कक्षा ७ मा अध्ययनरत २३६ जना छात्रा रहेका छन्।
चाँगुनारायण नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिलकुमार दुवालका अनुसार नगरपालिका क्षेत्रभित्र रहेका ४६ विद्यालयमध्ये दुई विद्यालयमा कक्षा ६ मा छात्रा नभएकाले बाँकी ४४ विद्यालयलाई खोप अभियानमा समेटिएको हो।
खोप अभियान सञ्चालनका लागि ३७ जना स्वास्थ्यकर्मी र ३७ जना स्वयंसेविका परिचालन गरिने जनाइएको छ। विद्यालयमै खोप लगाउन छुटेका छात्राका लागि भने फागुन ४ र ५ गते नगरपालिका अन्तर्गत वडा नं. १ देखि ९ सम्म रहेका ११ वटा स्वास्थ्य संस्थामार्फत खोप सेवा उपलब्ध गराइनेछ।
नगरपालिकाले पाठेघरको क्यान्सर रोकथाममा प्रभावकारी मानिने एचपीभी खोपलाई प्राथमिकतामा राख्दै विद्यालय तहबाटै स्वास्थ्य सचेतना र सुरक्षालाई मजबुत बनाउने उद्देश्य लिएको जनाएको छ।


