नगरकोट विकासको ४ वर्षे फड्को: २० करोडका योजना, पर्यटन र सुशासनमा जोड

नगरकोट, १८ जेठ : चाँगुनारायण नगरपालिका वडा नं. ६ ले पछिल्लो चार वर्षमा भएका विकास निर्माण, सुशासन र सेवा प्रवाहका उपलब्धिहरू सार्वजनिक गर्दै प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ।

कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, पत्रकार तथा स्थानीय सरोकारवालाबीच वडाको समग्र विकास यात्राबारे विस्तृत छलफल भएको हो।

कार्यक्रममा वडाध्यक्ष धनबहादुर लामाले पछिल्लो चार वर्षमा विकास र सुशासनलाई सँगसँगै अघि बढाइएको उल्लेख गर्दै नगरकोटलाई समृद्ध पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यअनुसार काम भइरहेको बताउनुभयो।

उहाँका अनुसार तीनै तहका सरकारको समन्वयमा वडामा करिब २० करोड रुपैयाँ बराबरका भौतिक तथा सामाजिक विकासका योजना कार्यान्वयन भएका छन्। सीमित स्रोतका बाबजुद जनताको आवश्यकता र अपेक्षालाई समेट्ने प्रयास गरिएको उहाँले बताउनुभयो।

वडाध्यक्ष लामाले नगरकोट विकासको मुख्य आधार पर्यटन रहेको उल्लेख गर्दै पर्यटकीय क्षेत्रलाई प्लास्टिकमुक्त बनाउने प्रयास भए पनि पूर्ण रूपमा सफल हुन नसकेको स्वीकार गर्नुभयो।

उहाँले स्थानीय आर्थिक सशक्तीकरणका लागि स्थानीय उत्पादन, विशेषगरी लोकल रक्सीको ब्रान्डिङमार्फत आयआर्जन बढाउन सकिने धारणा राख्नुभयो।

उहाँले भौतिक पूर्वाधारसँगै सामाजिक चेतना र मानव विकासलाई पनि समान रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै भन्नुभयो, “विकास केवल संरचना होइन, जनचेतना र जीवनस्तरको सुधार पनि हो।”

त्यसैगरी उहाँले नगरपालिकाको प्रवेशद्वार निर्माण प्रक्रिया अघि बढाइएको, १० शैय्याको अस्पताल निर्माणको पहल भइरहेको तथा नगरकोट स्वास्थ्य चौकीलाई स्तरउन्नती गर्न प्रदेश सरकारबाट बजेट प्राप्त भइसकेको जानकारी दिनुभयो। आवश्यक परे अन्तर्राष्ट्रिय सहयोगका लागि समेत पहल गरिएको उहाँले बताउनुभयो।

विद्यालय व्यवस्थापन, सार्वजनिक जग्गा संरक्षण, सरसफाइ, प्रदूषण नियन्त्रण तथा पर्यटकीय पूर्वाधार विस्तारलाई प्राथमिकताका क्षेत्रमा राखेर काम भइरहेको उहाँले बताउनुभयो।

सुनुवाइमा स्थानीयवासीले विकास निर्माण, सेवा प्रवाह, सार्वजनिक सम्पत्ति संरक्षण, विद्यालय व्यवस्थापन र आधारभूत सुविधासम्बन्धी विभिन्न प्रश्न, सुझाव र गुनासो राखेका थिए।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि तथा पत्रकारहरूले वडाको समग्र कार्यप्रगति सकारात्मक रहेको टिप्पणी गर्दै जनप्रतिनिधिको कार्यशैली समन्वयकारी र जनमुखी रहेको धारणा व्यक्त गर्नुभयो।

नगरकोट प्रहरी प्रभागका प्रमुखले वडासँगको समन्वयमा शान्ति सुरक्षा सुदृढ रहेको र आपतकालीन अवस्थामा तत्काल प्रतिक्रिया दिइँदै आएको जानकारी दिनुभयो।

कार्यक्रमले पछिल्लो चार वर्षको विकास उपलब्धि सार्वजनिक गर्दै जनप्रतिनिधि र नागरिकबीच संवाद र जवाफदेहिताको अभ्यासलाई थप मजबुत बनाएको सरोकारवालाहरूले बताएका छन्।