ताथली, १७ जेठ : चाँगुनारायण नगरपालिका वडा नं. ९, ताथलीको आयोजनामा परम्परागत खुला बाँसुरी बाजा प्रतियोगिता–२०८३ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा उपत्यकाका विभिन्न स्थानबाट आएका १३ टोलीका २०० भन्दा बढी कलाकारहरूले सहभागिता जनाएका थिए।

प्रतियोगितामा बालाजुको देवीस्थान बाँसुरी खल प्रथम हुँदै नगद रु. २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो।
चन्द्रागिरिको झिगु नेवा बाँसुरी खल द्वितीय, ताथलीको खगां दाफा भजन खल तृतीय तथा सरस्वती खेलको ससु माजु बाँसुरी खलले सान्त्वना स्थान हासिल गरे। साथै न्यूरोडको पाको पुखध्या मानन्धर खललाई प्रोत्साहनस्वरूप नगद रु. २ हजार ५ सय र प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा वागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँ प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने कार्यक्रमको सभापतित्व वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यातले गरेका थिए।
कार्यक्रममा ताथली धिमय् खल तथा अन्य खलःका वरिष्ठ धिमय्, भुछ्या र सिछ्यावादकहरूलाई विशेष सम्मान समेत गरिएको आयोजकले जनाएको छ। कार्यक्रमको सञ्चालन हरिसुन्दर छुकांले गरेका थिए ।
