भक्तपुर बजेटबाट उपेक्षित भएको भन्दै महेश बस्नेतको कडा टिप्पणी


भक्तपुर, १५ जेठ : भक्तपुरलाई संघीय बजेटमा यसपटक प्राथमिकतामा नराखिएको भन्दै राजनीतिक तथा स्थानीय स्तरमा चर्चा चुलिएको छ।

नेकपा (एमाले) का सचिव महेश बस्नेतले भक्तपुरलाई बजेट भाषणमा उपेक्षा गरिएको आरोप लगाउँदै कडा टिप्पणी गर्नुभएको छ।

उहाँका अनुसार केही वर्षअघिसम्म बजेट भाषणमा भक्तपुरका सडक, सम्पदा संरक्षण र शिक्षा क्षेत्रका योजनाहरू नियमित रूपमा उल्लेख हुने गरे पनि पछिल्ला वर्षहरूमा त्यो क्रम घट्दै गएको छ।

यस वर्षको बजेट भाषणमा भक्तपुरको नाम नै उल्लेख नभएको भन्दै उहाँले स्थानीय स्तरमा गुनासो बढ्दै गएको बताउनुभयो। “कर तिर्ने, संस्कृति जोगाउने भक्तपुरलाई विकास र बजेटमा किन बेवास्ता ?” भन्ने प्रश्न जनस्तरबाट उठ्न थालेको उहाँको भनाइ छ।

उहाँले निर्वाचन जितेर गएका जनप्रतिनिधिहरूले गरेका प्रतिबद्धता पूरा गर्न नसकेको भन्दै त्यसको स्पष्ट जवाफ दिनुपर्ने आवश्यकता समेत औंल्याउनुभएको छ।

हालसम्म प्राप्त बजेट वक्तव्यको प्रारम्भिक अध्ययनअनुसार भक्तपुर जिल्लाका लागि कुनै ठूला राष्ट्रिय गौरवका आयोजना वा छुट्टै नाम तोकेर स्पष्ट ठूलो बजेट विनियोजन भएको विवरण सार्वजनिक रूपमा देखिएको छैन।

यद्यपि विस्तृत “रेडबुक” सार्वजनिक भएपछि मात्रै कुन आयोजना, कुन वडामा कति बजेट परेको हो भन्ने स्पष्ट हुने भएकाले थप विवरण आउन बाँकी रहेको छ।