विकास प्राधिकरणको टोलीद्वारा चाँगुनारायणका अलपत्र सडकको स्थलगत निरीक्षण, निर्माण कार्य यथाशीघ्र अघि बढाउने प्रतिबद्धता

भक्तपुर, ६ साउन : चाँगुनारायण नगरपालिका–५ को आर्मी ब्यारेकदेखि वडा कार्यालय जाने सडक तथा वडा नं. ७ को मुहानपाेखरी पाइपलाइन सडकको निर्माण लामो समयदेखि अलपत्र परेपछि काठमाडौं उपत्यका विकास प्राधिकरणका नवनियुक्त विकास आयुक्त सुरज शाक्यसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ।

स्थलगत निरीक्षणमा भक्तपुरका आयुक्त, चाँगुनारायण नगर प्रमुख जीवन खत्री, वडा नं. ५ का वडा अध्यक्ष जयन्द्र खडका, वडा नं. ५ का अन्य जनप्रतिनिधि, वडा नं. ७ का वडा सदस्य श्यामकाजी नयाँजू तथा स्थानीयवासीहरूको समेत सहभागिता रहेको थियो।

स्थलगत निरीक्षण केही दिनअघि नगर प्रमुख जीवन खत्रीको नेतृत्वमा जनप्रतिनिधिसहितको स्थानीय प्रतिनिधिमण्डल (डेलिगेसन) ले काठमाडौं उपत्यका विकास प्राधिकरण पुगेर अलपत्र सडक निर्माण तत्काल अघि बढाउन आग्रह गरेपछि भएको हो। त्यस अवसरमा नगर प्रमुख खत्रीले निर्माण कार्यमा भएको ढिलाइका कारण स्थानीयवासीले वर्षौंदेखि सास्ती भोगिरहेको उल्लेख गर्दै सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउनुभएको थियो।

सोही भेटका क्रममा विकास आयुक्त सुरज शाक्यले एक साताभित्र सम्बन्धित सडकको स्थलगत निरीक्षण गर्ने, स्थानीयसँग छलफल गर्ने तथा कानुनी, प्राविधिक र ठेक्का व्यवस्थापनसम्बन्धी पक्षको अध्ययन गरी निर्माण प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाउनुभएको थियो। आजको निरीक्षण सोही प्रतिबद्धताको कार्यान्वयनका रूपमा सम्पन्न भएको हो।

निरीक्षणका क्रममा निर्माण कार्यमा देखिएका समस्या, आवश्यक समन्वय र आगामी कार्ययोजनाबारे विस्तृत छलफल भएको थियो। सरोकारवालाहरूले निर्माण कार्यलाई थप ढिलाइ नगरी प्रभावकारी रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।

नगर प्रमुख खत्रीले विकास निर्माणमा भएको ढिलाइको गाली, आलोचना र अपजस स्थानीय सरकारले मात्र बोक्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताउँदै जिम्मेवार निकायले आफ्नो दायित्व समयमै पूरा गर्नुपर्ने धारणा राख्नुभयो।

उहाँले निर्माण प्रक्रियामा कुनै प्राविधिक, प्रशासनिक वा कानुनी समस्या भए त्यसको समाधानका लागि चाँगुनारायण नगरपालिका आवश्यक समन्वय र सहजीकरण गर्न सधैँ तयार रहेको पनि स्पष्ट पार्नुभयो।

पछिल्लो समय सामाजिक सञ्जालमा “जनप्रतिनिधिले काम गरेनन्, नगर प्रमुखले काम गरेनन्” भन्ने टिप्पणीहरू आइरहेका बेला विकास निर्माणको वास्तविक प्रक्रिया बुझ्न पनि आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।

कुनै पनि सडक निर्माणका लागि बजेट विनियोजन, योजना स्वीकृति, ठेक्का प्रक्रिया, कानुनी व्यवस्थापन र निर्माण कार्यजस्ता चरण पूरा गर्नुपर्ने भएकाले सम्बन्धित निकायबीचको समन्वय अत्यावश्यक हुने उनीहरूले बताएका छन्।

आजको स्थलगत निरीक्षण र छलफलपछि लामो समयदेखि अलपत्र रहेका चाँगुनारायण–५ र ७ का यी सडकको निर्माणले अब गति लिने अपेक्षा स्थानीयवासीले गरेका छन्। सम्बन्धित पक्षहरूले पनि निर्माण कार्यलाई थप ढिलाइ नगरी यथाशीघ्र सुरु गरी सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।