विद्यालयको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन चाँगुनारायणको नयाँ व्यवस्था

भक्तपुर, साउन ६ — विद्यालयको नियमित पठनपाठनमा कुनै असर नपरोस् भन्ने उद्देश्यले चाँगुनारायण नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीका लागि नगरपालिका कार्यालयमा उपस्थित हुने समय निर्धारण गरेको छ।

नगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनाअनुसार विद्यालयसम्बन्धी कामका लागि बिहान ९:०० देखि १०:०० बजेसम्म तथा दिउँसो ३:०० देखि ५:०० बजेसम्म मात्र नगरपालिका कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ। अत्यावश्यक अवस्थाबाहेक अन्य समयमा कार्यालय नआउन आग्रह गरिएको छ।

विद्यालयको शैक्षिक गतिविधि र नियमित पठनपाठनलाई पहिलो प्राथमिकतामा राख्दै यस्तो व्यवस्था लागू गरिएको नगरपालिकाले जनाएको छ।

साथै, विद्यालयबाट कार्यालय आउनुपर्ने अवस्था सिर्जना भएमा विद्यालयको पठनपाठनमा कुनै अवरोध नपर्ने गरी आवश्यक व्यवस्थापन गर्न पनि निर्देशन दिइएको छ।

नगरपालिकाले यो व्यवस्थाले विद्यालयमा शिक्षक तथा कर्मचारीको अनावश्यक अनुपस्थिति न्यूनीकरण भई पठनपाठन थप प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।