चाँगुनारायण नगरपालिका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना निर्माण गर्ने पहिलो पालिका

भक्तपुर:  चाँगुनारायण नगरपालिका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना बनाउने पहिलो नगरपालिका बनेको छ । देशभरका ७५३ वटा पालिकामध्ये भक्तपुरको चाँगुनारायण नगरपालिका उक्त योजना निर्माण गर्ने पहिलो नगरपालिका बनेको हो ।

वायु गुणस्तर व्यवस्थापन कार्ययोजना छलफल तथा प्रमाणिकरण कार्यशाला गोष्ठीमा सहभागीहरुले स्वच्छ हावा प्रवर्द्धनका लागि योजना निर्माण गरी नगरपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिनु पालिकाको नमूना काम भएको भन्दै प्रशंसा गरेका थिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले २०७९ साल पौष २४ गतेको १६ औं कार्यपालिकाको बैठकले कार्ययोजना बनाउने निर्णय गरेको बताउँदै त्यसका लागि ५ सदस्यीय समिति गठन गरेको बताउनुभयो । पन्थीले वास योजना बनाउने पहिलो नगरपालिका बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

वास संयोजक सुरेन्द्र लामिछानेले उक्त योजना काठमाडौं उपत्यका वायु गुणस्तर मापदण्ड २०७६ अनुसार पालिकाले योजना निर्माण गरेको जानकारी दिनुभयो । गोष्ठीमा वातावरण संस्था (एन्फो) की विजया राजवैद्यले नगरपालिकामा ४५ प्रतिशत घरधुरीहरुले फोहोर व्यवस्थापनको लागी सदस्यता लिएको र ५५ प्रतिशत घरधुरीहरुले फोहोरमैला व्यवस्थापनको लागी सेवा प्रदायक संस्थाको सदस्यता लिन बाँकी रहेको बताउँदै अझ पनि प्रदूषणको विषयमा टोलटोलमा छलफल र अन्तरक्रिया सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

नगरपालिकाको उक्त योजनामा विद्यालय। सहकारी, संघसंस्था, कलकारखानालगायतले गर्नुपर्ने कामहरुको जिम्मेवारी निर्धारण गरिएको छ । पालिकाले नगरपालिका क्षेत्रमा बढ्दो शहरीकरणको कारण मोटर गाडीको संख्या दिनानुदिन बढ्दै गएकोमात्र नभई कृषि तथा पैदावारमा आधारित साना उद्योगहरू सञ्चालनमा रहेको जनाएको छ । योजनामा वायु प्रदूषणका कारणमा कृषि क्षेत्रमा व्यापक रुपमा रसायन, विषादीको बढ्दो प्रयोग, यातायात, फोहोरमैला, वन डढेलो तथा जथाभावी रुपमा फोहोर बाल्ने चलन आदि कारणले नगर क्षेत्रमा वायू प्रदुषण बढ्दै गएको जनाएको छ ।