भक्तपुर, २० जेठ : भक्तपुरको चाँगुनारायण नगरपालिकाका दुईवटा वडामा घातक मानिने ‘बर्ड फ्लु’ (H5N1) रोग पुष्टि भएको छ ।
नगरपालिकाको वडा नम्बर १ र ९ मा अचानक धेरै संख्यामा कुखुरा मरेपछि संकलन गरिएको नमूनालाई केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा परीक्षण गर्दा ‘हाईली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (बर्ड फ्लु) प्रमाणित भएको हो।
संक्रमण पुष्टि भएसँगै चाँगुनारायण नगरपालिकाले एक सूचना जारी गर्दै सरुवा रोग थप फैलिन नदिन र नियन्त्रणमा लिन नगरवासी तथा पशुपन्छी पालक कृषकहरूका लागि ११ बुँदे कडा निर्देशन जारी गरेको छ।
नगरपालिकाका वरिष्ठ पशु विकास अधिकृत खडक कुमार मैनालीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएका ११ बुँदे निर्देशनहरू यस प्रकार रहेका छन्:
१. प्रवेशमा पूर्ण बन्देज: पन्छी फार्महरूमा अनावश्यक व्यक्ति र सवारी साधनहरूलाई प्रवेश गराउन पाइने छैन।
२. अनिवार्य नि:संक्रमण: फार्म परिसर भित्र प्रवेश गराउनै पर्ने अत्यावश्यक अवस्था भएमा पूर्ण रूपमा नि:संक्रमण (स्यानिटाइज) गरेर मात्र फार्ममा प्रवेश गराउनुपर्नेछ।
३. कामदार हेरफेरमा रोक: एक फार्ममा काम गर्ने व्यक्ति वा मजदुर अर्को फार्ममा जान पाउने छैनन्।
४. क्यारेट पुनः प्रयोगमा प्रतिबन्ध: प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट (क्यारेट) लाई कुनै पनि हालतमा पुनः प्रयोग गर्न पाइने छैन।
५. फुटबाथको अनिवार्य व्यवस्था: फार्म वा खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुन लगायतका नि:संक्रामक औषधि राखिएको फुटबाथ प्रयोग गर्नुपर्नेछ र प्रत्येक पटक प्रवेश गर्दा फुटबाथमा टेकेर वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्नुपर्नेछ।
६. छुट्टै बुट र एप्रोन: खोर भित्र प्रवेश गर्दा अनिवार्य रूपमा छुट्टै बुट र एप्रोनको मात्र प्रयोग गर्नुपर्नेछ।
७. दैनिक निसंक्रमण: खोर भित्र र बाहिर दैनिक रूपमा अनिवार्य रूपमा नि:संक्रमण (स्यानिटाइज) गर्नुपर्नेछ।
८. अन्य जीवजन्तु निषेध: फार्म परिसरभित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशुपन्छीहरू प्रवेश गर्न नसक्ने गरी सुरक्षित व्यवस्था मिलाउनुपर्नेछ।
९. सुरक्षित विसर्जन: मरेका पन्छीहरूलाई पर्यावरण र स्वास्थ्यमा असर नपुग्ने गरी यथासक्य छिटो सुरक्षित तरिकाले गहिरो खाडलमा पुर्नुपर्नेछ।
१०. व्यक्तिगत सुरक्षा र स्वास्थ्य: पन्छी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने, नियमित रूपमा साबुनपानीले हातखुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्नेछ।
११. भेटेरिनरी प्रमाणपत्र अनिवार्य: पन्छी तथा पन्छीजन्य उत्पादनहरूको ओसारपसार गर्दा अनिवार्य रूपमा आधिकारिक भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न/गराउन निर्देशन दिइएको छ।
नगरपालिकाले यदि कसैको फार्म वा क्षेत्रमा अचानक धेरै संख्यामा पन्छीहरू बिरामी परेमा वा मरेमा तुरुन्तै पशुपन्छी सेवा उपशाखाको टोल फ्री नम्बरहरू १८१०५००३५० वा १८१०५००३५१ मा सम्पर्क गरी जानकारी दिन सर्वसाधारणमा विशेष अनुरोध गरेको छ।
