भक्तपुर, साउन ८ – चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा आन्तरिक राजस्व संकलनमा उल्लेख्य वृद्धि हासिल गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा नगरपालिकाको आन्तरिक आय १४.३६ प्रतिशतले वृद्धि भएको हो।
नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८१/०८२ मा रु. २७ करोड ४६ लाख ७१ हजार ६४३ रुपैयाँ १५ पैसा आन्तरिक राजस्व संकलन भएको थियो। आर्थिक वर्ष २०८२/०८३ मा उक्त रकम बढेर रु. ३१ करोड ४१ लाख १९ हजार ७५० रुपैयाँ १४ पैसा पुगेको छ।
नगरपालिकाका अनुसार वडा कार्यालयसहित सबै राजस्व काउन्टरमार्फत साउन १ गतेदेखि असार मसान्तसम्म संकलन भएको आन्तरिक राजस्वको विवरण सार्वजनिक गरिएको हो।
नगरपालिकाले सेवा प्रवाहमा सुधार, करदाताको बढ्दो सहभागिता तथा प्रभावकारी राजस्व व्यवस्थापनका कारण आन्तरिक आयमा उल्लेख्य वृद्धि भएको जनाएको छ।
नगरपालिकाले आगामी दिनमा समेत राजस्व संकलनलाई थप प्रभावकारी बनाउँदै स्थानीय स्रोतको परिचालनमा जोड दिने जनाएको छ।

