पार्टी एकताको पक्षमा दबाब बढाउँदै कांग्रेस जनप्रतिनिधि, तिक्तता अन्त्य गरी एकताबद्ध हुन नेतृत्वलाई आह्वान, साउन १६ मा दबाबमूलक राष्ट्रिय भेला गर्ने निर्णय

काठमाडौं, साउन ७ : नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टीभित्र देखिएको असमझदारी, गुटगत तिक्तता र विभाजनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वमाथि दबाब बढाउने निर्णय गरेका छन्।

जनप्रतिनिधिहरूले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी आगामी निर्वाचनलाई लक्षित गर्दै साझा नेतृत्व र साझा अभियानका साथ अघि बढ्न शीर्ष नेतृत्वलाई आह्वान गरेका हुन्। कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीको सभापतित्वमा गोकर्ण रिसोर्टमा बिहीबार भएको नगर प्रमुखहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौंमा उपलब्ध जनप्रतिनिधिहरूको बिहीबार बसेकाे भेलाले आगामी स्थानीय तह तथा प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसको विजय सुनिश्चित गर्न पार्टीभित्र आपसी विश्वास, संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएको छ।

भेलाले यही साउन १६ गते काठमाडौंमा देशभरका नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागितामा ‘पार्टी एकता तथा आसन्न स्थानीय र प्रदेश निर्वाचन’ विषयक राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ।

दबाब अभियानले नेपाल नगर पालिका संघका केन्द्रीय अध्यक्ष रहेका धादिङ नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानालाई संयोजक तोक्दै गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष समेत रहेकी हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेलाई सहसंयोजक तोकेको छ ।

चाँगुनारायण नगरपालिकाका नगरप्रमुख तथा नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का क्षेत्रीय सभापति जीवन खत्रीका अनुसार राष्ट्रिय भेलामार्फत पार्टीभित्र देखिएका असमझदारीका विषयमा नेतृत्वसँग प्रभावकारी छलफल गर्दै एकताको सन्देश प्रवाह गरिनेछ।

साथै आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनमा पार्टीका उम्मेदवारको विजय सुनिश्चित गर्न साझा रणनीति र अनुकूल वातावरण निर्माण गर्ने विषयमा समेत व्यापक छलफल गरिनेछ।

खत्रीका अनुसार राष्ट्रिय भेलाले पार्टीभित्र एकता, समन्वय र सहकार्यको भावना अझ सुदृढ बनाउँदै आगामी निर्वाचनलाई लक्षित साझा प्रतिबद्धता सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।