काठमाडौँ – जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सार्वजनिक संरचनाहरूको पुनर्निर्माण र सुरक्षात्मक पूर्वाधार सुदृढीकरणका लागि उपत्यका मेयर्स फोरमले तत्काल ६ करोड बराबरको आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ। अध्यक्ष चिरीबाबु महर्जनको अध्यक्षतामा बसेको फोरमको १२औँ बैठकबाट सो निर्णय गरिएको हो ।
कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले सिंहदरबार परिसरमा आन्दोलनका कारण भएको आगलागीबाट क्षतिग्रस्त ऐतिहासिक भवन पुनर्निर्माणका लागि ५ करोड र उपत्यका प्रहरी कार्यालयमार्फत सुरक्षाका लागि सीसीटिभी प्रणाली व्यवस्थापनमा १ करोड सहयोग गर्ने जानकारी दिनुभयो ।
साथै, आन्दोलनका क्रममा तोडफोड तथा आगजनीबाट प्रभावित उपत्यकाका अन्य स्थानीय तहलाई समेत क्षतिको मूल्याङ्कनका आधारमा आवश्यक सहयोग प्रदान गरिने निर्णय फोरमले गरेको छ। यस सहयोगले प्रभावित नगरपालिकाहरूलाई सेवा प्रवाहमा सहजता पुर्याउने अपेक्षा गरिएको छ।
उपत्यका मेयर्स फोरम काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाभित्रका सबै नगरपालिकाका प्रमुखहरूको समन्वयात्मक निकाय हो, जसले आपतकालीन अवस्था तथा साझा समस्याहरूमा एकीकृत रूपमा पहल गर्दै आएको छ।

