बर्डफ्लूको कहर : चाँगुनारायणमा ३८ हजारभन्दा बढी कुखुरा नष्ट, ताथली र सुडालमा सबैभन्दा धेरै क्षति

भक्तपुर, ११ असार : भक्तपुरको चाँगुनारायण नगरपालिकाका पोल्ट्री किसानहरू यतिबेला ठूलो पीडामा छन् । लाखौँ रुपैयाँ लगानी गरेर सञ्चालन गरेका पोल्ट्री फार्ममा आम्दानी गर्ने समयमा नै बर्डफ्लू देखिएपछि हजारौँ कुखुरा नष्ट गर्नुपर्दा किसानहरू आर्थिक संकटमा परेका छन् ।

चाँगुनारायण नगरपालिका पशु–पन्छी शाखा प्रमुख खड्क कुमार मैनालीका अनुसार हालसम्म नगर क्षेत्रभरि ३८ हजार ३ सय ९० वटा लेयर्स कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू नियन्त्रणका क्रममा प्रभावित फार्मका कुखुरा तथा अण्डासमेत नष्ट गरिएको छ भने क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ ।

विशेषगरी चाँगुनारायण–८ सुडाल र वडा नम्बर ९ ताथली क्षेत्रमा सबैभन्दा ठूलो क्षति भएको छ । सुडाल क्षेत्रमा मात्रै एउटै पोल्ट्री फार्ममा २२ हजार ८ सय १५ वटा लेयर्स कुखुरा नष्ट गरिएको छ भने ताथली क्षेत्रका किसानहरू पनि ठूलो क्षतिमा परेका छन् । वडा नम्बर ९ मा १३ हजारभन्दा बढी कुखुरा नष्ट भएका छन् भने वडा नम्बर १, २ र ३ मा समेत हजारौँको संख्यामा कुखुरा नष्ट गरिएको छ ।

अण्डा उत्पादन गरेर आम्दानी गर्ने अवस्थामा पुगेका लेयर्स कुखुरा नष्ट हुँदा किसानहरूले लाखौँ रुपैयाँ गुमाएका छन् । किसानका अनुसार एउटा लेयर्स कुखुरामा करिब १ हजार ६ सय रुपैयाँसम्म लगानी हुने भएकाले प्रारम्भिक अनुमानमा नगर क्षेत्रभरि करिब एक करोड रुपैयाँ हाराहारीमा आर्थिक क्षति भएको देखिएको छ । यद्यपि वास्तविक क्षतिको विवरण नगरपालिकाले पूर्ण विवरण संकलनपछि सार्वजनिक गर्ने जनाएको छ ।

बर्डफ्लूबाट प्रभावित किसानहरू पीडामा छन् । धेरै किसानहरू आफ्नो नाम र फार्मको विवरण सार्वजनिक गर्न चाहिरहेका छैनन् । बजारमा थप नकारात्मक असर पर्ने र कुखुरा बिक्री–वितरणमा समस्या आउन सक्ने चिन्ताले उनीहरू खुलेर बोल्नसमेत हिच्किचाइरहेका छन् ।

“लाखौँ लगानी गरेर हुर्काएका कुखुरा आम्दानी गर्ने बेलामा सकिए । अब कसरी अगाडि बढ्ने भन्ने चिन्ता छ,” एक पीडित किसानले दुःख व्यक्त गर्दै भने ।

पोल्ट्री व्यवसायमा आश्रित किसानहरूले सरकारले वास्तविक क्षतिको मूल्यांकन गरी राहत तथा पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । नगरपालिकाले बर्डफ्लू नियन्त्रणका लागि आवश्यक काम भइरहेको र प्रभावित क्षेत्रको क्षति विवरण संकलन जारी रहेको जनाएको छ ।