भक्तपुर(खरीपाटी), १५ भदौ— चाँगुनारायण नगरपालिकाले गरिब घरपरिवार पहिचान कार्यक्रमअन्तर्गत तयार पारिएको प्रारम्भिक सूची सार्वजनिक गरेको छ। नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशनअनुसार नगरपालिकाले आइतबार प्रारम्भिक सूची सार्वजनिक गरेको हो । सूचीमा ६२६ जनाको नाम समावेश गरिएको छ।
सूची सार्वजनिकसँगै नगरपालिकाले १५ दिनभित्र गुनासो दर्ता गराउन सकिने सूचना समेत जारी गरेको छ। सूचीमा नाम छुटेका, त्रुटिपूर्ण विवरण समावेश भएकाहरू तथा अन्य कुनै कारणवश नाम छुटेका व्यक्तिहरूले तोकिएको समयसीमाभित्र आवश्यक कागजातसहित गुनासो पेश गर्न सक्नेछन्।
यस प्रक्रिया अन्तर्गत, गुनासोहरू गुनासो सुझाव समिति तथा वडास्तरमा गठन गरिएका समितिहरूले संकलन र मूल्यांकन गर्नेछन्। नगरपालिकाले सूचीमा नाम समेटिन नसकेको भए वा गलत विवरण रहेको भए सम्बन्धित व्यक्तिहरूले स्वीकृत ढाँचामा गुनासो दर्ता गर्न आग्रह गरेको छ।
गुनासो दर्ताका लागि चाँगुनारायण नगरपालिकाको पंजीकरण शाखामा सम्पर्क गर्न सकिनेछ। नगरपालिकाले सूचीकृत परिवारलाई भविष्यमा लक्षित कार्यक्रम र सेवा लाभ प्रदान गरिने भएकाले सम्पूर्ण नागरिकलाई सचेत र सक्रिय रहन पनि आग्रह गरेको छ ।
गुनासो दर्ता सम्बन्धी चाँगुनारायण नगरपालिकाको सूचना

चाँगुनारायणमा ६२६ गरिब परिवारको प्रारम्भिक सूची












