भक्तपुर । चाँगुनारायण नगरपालिकाले स्वस्थ वृद्धावस्था प्रवद्र्धन तथा उमेरमैत्री समुदाय निर्माणका क्षेत्रमा गरेका कामहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको छ । स्पेनको सान सेबास्टियनमा आयोजना भइरहेको तेस्रो विश्व उमेरमैत्री सहर तथा समुदाय महासम्मेलनमा नगर प्रमुख जीवन खत्रीले नेपालको प्रतिनिधित्व गर्दै चाँगुनारायणका अभ्यास, उपलब्धि र सिकाइहरू प्रस्तुत गरेका हुन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) तथा स्पेन सरकारअन्तर्गतका सम्बन्धित निकायको निमन्त्रणामा नगर प्रमुख खत्री र सहारा परियोजनाकी संयोजक उमा थापा सम्मेलनमा सहभागी भएका छन् । जुन १५ देखि १८ सम्म सञ्चालन भइरहेको सम्मेलनमा विश्वभरका उमेरमैत्री सहर तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
नगर प्रमुखहरूको विशेष सत्रमा मेयर खत्रीले सक्रिय, स्वस्थ र सम्मानजनक वृद्धावस्था सुनिश्चित गर्न चाँगुनारायण नगरपालिका र सहारा परियोजनामार्फत सञ्चालन भइरहेका कार्यक्रम तथा उपलब्धिहरूबारे अनुभव प्रस्तुत गर्नुभयो । उक्त सत्रमा नेपालसँगै ब्राजिल, जर्मनी र स्पेनका प्रतिनिधिहरूले समेत आफ्ना उत्कृष्ट अभ्यासहरू साझा गरेका थिए ।

प्रस्तुतिका क्रममा मेयर खत्रीले चाँगुनारायणलाई विश्व स्वास्थ्य संगठनको उमेरमैत्री सहर तथा समुदायहरूको विश्वव्यापी सञ्जालमा जोडिन सहयोग गर्ने डब्लूएचओ र स्विस रेडक्रसप्रति आभार व्यक्त गर्नुभयो ।
चाँगुनारायण नगरपालिका, नेपाल रेडक्रस सोसाइटी र स्विस रेडक्रसको सहकार्यमा सञ्चालन भइरहेको सहारा परियोजनाले ज्येष्ठनागरिकमैत्री सेवा, समावेशी समुदाय निर्माण र स्वस्थ वृद्धावस्था प्रवद्र्धनका क्षेत्रमा काम गर्दै आएको छ ।
महासम्मेलनमा चाँगुनारायणको सहभागिताले नेपालका स्थानीय तहबाट भइरहेका उमेरमैत्री अभ्यासलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष चिनाउने अवसर प्राप्त भएको बताइएको छ । यसले चाँगुनारायणलाई ज्येष्ठनागरिकमैत्री र स्वस्थ समुदाय निर्माणतर्फ अघि बढिरहेको नगरपालिकाका रूपमा स्थापित गर्ने प्रयासलाई थप बल पुगेको छ ।
