चाँगुनारायण नगरभित्रका सामुदायिक वन उपभोक्ता समितिहरुलाई क्षमता विकास तालिम तथा अध्ययन अवलोकन भ्रमण

खरीपाटी : चाँगुनारायण नगरपालिकाका सामुदायिक वन उपभोक्ता समितिहरुलाई क्षमता विकास सम्बन्धी तालिम दिइएको छ । चाँगुनारायण नगरपालिकाको खानेपानी, सरसफाई तथा स्वच्छता शाखाको आयोजनामा सोमबार नगरपालिकाको सभाहलमा तालिम संचालन गरिएको हो ।

तालिमको नगर प्रमुख जीवन खत्रीले उद्घाटन गर्नुहुँदै नगरपालिकाले विशेष चासो दिएर नगरभित्र रहेका २७ वटा सामुदायिक वन उपभोक्ता समितिलाई त्रियाशील बनाउन लागिपरेको बताउनुभयो ।

नगरपालिकाले वन ऐन निर्माण गरि वनहरुको संरक्षण गर्ने उपभोक्ता समितिहरुलाई विधी र प्रक्रियामा रही ब्यवस्थित बनाउने काम गरिहेको बताउनुभयो ।

उहाँले वन समितिबाट कार्ययोजना ल्याएमा नगरपालिका जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । सामुदायिक वन उपभोक्ता समितिहरुको क्षमता अभिबृद्धि गर्न यस्ता कार्यक्रम निकै प्रभावकाी हुने पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा जिल्ला वन उपभोक्ता महासंघ भक्तपुर अध्यक्ष पार्वती श्रेष्ठ नरकोटीले चाँगुनारायण नगरपालिकाले निकै महत्व दिएर वन उपभोक्ता समितिहरुलाई सक्रिय बनाउन विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा ‘वायू गुणस्तर ब्यवस्थापनको अवस्था र नागरिक समाजको भूमीका’ विषयमा स्रोत ब्यक्ती भोला भट्टराईले प्रशिक्षण दिनु भएको थियो ।

वास शाखा प्रमुख सुरेन्द लामिछानेको सभापतीत्वमा सम्पन्न कार्यक्रममा वन तथा वातावरण समितिका संयोजक सोम प्रधान, स्वच्छ हावा सञ्जाल चाँगुनारायण नगर समिति संयोजक रविता कार्की लगायले पनि बोल्नु भएको थियो ।

त्यस्तै, कार्यपश्चात, चित्तपोलमा रहेको हिमालयन नेचुरलमा वन पैदाबारबाट आर्यआर्जन सम्बन्धी अध्ययन अवलोकन समेत गराइएको थियो ।