भक्तपुरमा बर्ड फ्लु नियन्त्रण अभियान तीव्र, दुवाकोट र ताथलीमा करिब ४ हजार कुखुरा नष्ट

भक्तपुर, २३ जेठ : भक्तपुर जिल्ला मा बर्ड फ्लु संक्रमण फैलिने क्रम जारी रहेको छ। संक्रमण पुष्टि भएसँगै कुखुरा नष्ट गर्ने अभियान तीव्र बनाइएको छ भने स्थानीयस्तरमा त्रास पनि बढेको छ।

सूर्यविनायक नगरपालिकाका वडा नं. १ (सिरुटार) र वडा नं. ४ (दधिकोट) तथा चाँगुनारायण नगरपालिकाका वडा नं. १ (दुवाकोट) र वडा नं. ९ (ताथली) मा कुखुरा अस्वाभाविक रूपमा मर्न थालेपछि गरिएको परीक्षणमा घातक ‘हाईली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (बर्ड फ्लु) पुष्टि भएको हो।

संक्रमण पुष्टि भएसँगै नियन्त्रण अभियान अन्तर्गत हजारौँ कुखुरा नष्ट गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ। हालसम्म ताथली र दुवाकाेटमा गरि करिब ३ हजार ८ सय ३० कुखुरा, ८ हजार ४ सय अण्डा र १ हजार ५ सय ५० केजी दाना नष्ट गरिएको छ।

संक्रमण फैलिने जोखिम कायमै रहेकाले आसपासका पोल्ट्री फार्महरूमा निगरानी थप कडा पारिएको छ। केही क्षेत्रमा अझै पनि कुखुरामा अस्वाभाविक मृत्यु देखिने क्रम जारी रहेकाले नियन्त्रण चुनौतीपूर्ण बनेको छ।

यस विषयमा चाँगुनारायण नगरपालिका पशुपन्छी विकास शाखाका प्रमुख खड्ग कुमार मैनालीले संक्रमित तथा जोखिमयुक्त फार्महरूमा तत्काल नियन्त्रण अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार संक्रमण फैलिन नदिन कुखुरा, अण्डा र दाना सुरक्षित रूपमा नष्ट गर्ने कार्यलाई प्राथमिकता दिइएको छ।