खरीपाटी, २ माघ : चाँगुनारायण नगरपालिकाले जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरूलाई प्रचलित नीति, नियम र कानुनको पूर्ण पालना गर्दै आफ्नो जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गर्न आग्रह गरेको छ। नगरपालिकाले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने प्रतिबद्धता पुनः व्यक्त गरेको हो।
नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्यबाट मात्र नागरिकका समस्या सहज रूपमा समाधान गर्न सकिने उल्लेख गरिएको छ। साथै, परिणाममुखी सेवा प्रवाहका लागि नीति, निर्णय र कार्यान्वयनबीच समन्वय आवश्यक रहेको जनाइएको छ।
विज्ञप्तिअनुसार मिति २०८२ पुस २९ गते वडा नं ५ का वडा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच उत्पन्न असहज परिस्थितिबारे सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका समाचारलाई गम्भीर रूपमा लिँदै यस विषयमा ३० गते दुबै पक्षबीच खुला छलफल गरिएको छ।
छलफलका क्रममा वडाध्यक्षबाट आगामी दिनमा यस्ता अवस्था दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरिएको छ भने प्रमुख प्रशासकीय अधिकृतले पनि सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले कुनै पनि कार्य कानुनविपरीत भएमा त्यसलाई नसहने गरी कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ। साथै, आपसी संवाद, समझदारी र सहकार्यबाट मात्र विवाद समाधान सम्भव हुने भन्दै सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।
नगर प्रमुख जीवन खत्रीले नगरलाई सुशासनयुक्त, व्यवस्थित र नागरिकमैत्री बनाउने अभियानमा सबै जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरूको सहयोग अपरिहार्य रहेको बताउनुभएको छ।



