चाँगुनारायण नगर अस्पताल : स्थानीय स्वास्थ्य सेवाको भरपर्दो आधार

गौरव केसी

चाँगुनारायण नगरपालिका भौगोलिक रूपमा विकट क्षेत्र हो। विगतमा यहाँका नागरिकले सामान्य उपचारका लागि पनि टाढाका अस्पताल धाउनुपर्ने बाध्यता थियो। समय, खर्च र जोखिमका कारण विशेषगरी गर्भवती महिला, वृद्धवृद्धा, बालबालिका तथा विपन्न वर्ग स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था थियो। यही अवस्थालाई सुधार गर्ने उद्देश्यसहित २०७७ मंसिर २८ गते चाँगुनारायण नगर अस्पताल स्थापना गरिएको हो। स्थापना पछिका छोटो समयमै अस्पतालले स्थानीय नागरिकका लागि गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।

हाल नगर अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, प्रसूति तथा मातृशिशु स्वास्थ्य सेवा, ल्याब परीक्षण, एक्स–रे तथा रेडियोलोजी सेवा, फार्मेसी, खोप तथा नियमित स्वास्थ्य जाँच, स्वास्थ्य बीमा मार्फत उपचार सेवा प्रदान गरिरहेको छ। दक्ष चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीमार्फत सेवा प्रवाह हुँदै आएको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालमा बालरोग, आँखा, हाडजोर्नी, नाक–कान–घाँटी, स्त्रीरोगलगायत विशेषज्ञ सेवासमेत सुरु गरिएको छ। यसले नगरबासीलाई आफ्नै क्षेत्रमा गुणस्तरीय उपचार पाउने अवसर दिएको छ।

नगर अस्पतालले नियमित खोप, परिवार नियोजन परामर्श, बिद्यालय स्वास्थ्य कार्यक्रम, कुपोषण उपचार, गाउँघर क्लिनिक, रेबिज तथा टिटानस खोप जस्ता कार्यक्रम सञ्चालन गर्दै विगतका स्वास्थ्य पहुँच सम्बन्धी समस्यालाई लगभग समाधान गरिसकेको छ।

यसैगरी आपतकालीन एम्बुलेन्स सेवा, गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सुविधा र २४ घण्टा प्रसूति सेवा सञ्चालनमा आएसँगै नगरका बस्ती–बस्तीमा सुरक्षित मातृत्व दर वृद्धि भएको देखिएको छ।

नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन कुमार कार्कीका अनुसार बिरामीलाई सकेसम्म नगरमै उपचार गर्ने नीति अवलम्बन गरिएको छ। अत्यावश्यक अवस्थामा मात्र उच्चस्तरीय अस्पतालमा रिफर गर्ने व्यवस्था गरिएकोले नगरबासीको समय, खर्च र झन्झट कम भएको उहाँले बताउनुभयो।

अस्पतालकी प्रशासन प्रमुख आशा माझीले अस्पतालको सेवा विस्तार र व्यवस्थापन सुधारमा निरन्तर काम भइरहेको बताउनुभयो। उहाँका अनुसार नगर अस्पताललाई व्यवस्थित, पारदर्शी र जनमैत्री बनाउन प्रशासनिक सुधारलाई प्राथमिकतामा राखिएको छ।

बिरामीले छिटो, सहज र सम्मानजनक सेवा पाउने वातावरण निर्माण गर्नु हाम्रो मुख्य लक्ष्य हो। आगामी दिनमा जनशक्ति व्यवस्थापन, सेवा प्रवाहको डिजिटल प्रणाली र थप सेवा विस्तारमा समेत जोड दिइनेछ।

पछिल्लो समय अस्पतालमा अक्सिजन सेवा प्रभावकारी बनाइएको, इमर्जेन्सी सेवाका लागि अत्याधुनिक उपकरण थप गरिएको, दन्त सेवा सुरु गरिएको र थप विशेषज्ञ सेवा विस्तारको तयारी भइरहेको छ। अक्सिजन वितरण तथा पुनर्भरण सेवा निःशुल्क उपलब्ध गराइँदा संकटका समयमा नगरबासीले ठूलो राहत पाएका छन्।

भौतिक पूर्वाधार विस्तार, अत्याधुनिक उपकरण, विशेषज्ञ सेवा र जनमैत्री वातावरण निर्माणसँगै चाँगुनारायण नगर अस्पताल स्वास्थ्य प्रणालीको मेरुदण्डका रूपमा स्थापित भएको छ। यसले नगरबासीको जीवनस्तर उकास्नुका साथै नगरको समग्र विकास यात्रामा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ ।