झौखेलमा आगामी साेमबारदेखि राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण संकलन हुने

झौखेल, भक्तपुर। चाँगुनारायण नगरपालिकाले वडा नं. ३ मा राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण संकलन कार्य सञ्चालन गर्ने भएको छ। नगर कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनाअनुसार यसअघि प्रकाशित सूचनाअनुसारको कार्यतालिका परिमार्जन गर्दै उक्त कार्यक्रम पुनः सञ्चालन गर्न लागिएको हो।

सूचनाअनुसार पौष २८ गतेदेखि माघ २ गतेसम्म बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म वडा नं. ३ को वडा कार्यालय, झौखेलमा राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण संकलन कार्य हुने जनाइएको छ।

नगरपालिकाले यस कार्यका लागि सम्बन्धित नागरिकलाई तोकिएको समय र स्थानमा उपस्थित भई सेवा लिन आग्रह गरेको छ।

साथै, अन्य वडाबाट सञ्चालन हुने राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण संकलन सम्बन्धी कार्यका लागि छुट्टै सूचना प्रकाशित गरिने र वडा कार्यालयमा लिन बाँकी रहेका परिचयपत्रहरू नगरपालिकाको कार्यालयमा फिर्ता गरिने जानकारी पनि सूचनामा उल्लेख गरिएको छ।

नगरपालिकाले राष्ट्रिय परिचयपत्रलाई नागरिकको पहिचान, सेवा प्रवाह र डिजिटल अभिलेख व्यवस्थापनका लागि महत्वपूर्ण आधार मानेको भन्दै सबै नागरिकलाई सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ।