खरीपाटी, २१ पौष : चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रभित्र अनुमति बिना माटो, बालुवा लगायतका निर्माण सामग्रीको उत्खनन, ओसार–पसार तथा भण्डारण कार्य नगर्न कडा चेतावनी दिएको छ। नगरपालिकाको कार्यालयबाट जारी सूचनामा नगर क्षेत्रभित्र अनुमति नलिई गरिएको उत्खनन तथा ढुवानी कार्य प्रचलित कानुन विपरीत रहेको उल्लेख गरिएको छ।
यस्ता गतिविधिले वातावरणीय सन्तुलनमा असर पुर्याउने, सार्वजनिक सम्पत्तिमा क्षति पुग्ने र जोखिम बढ्ने भएकाले नगरपालिकाले यसलाई गम्भीर रूपमा लिएको जनाएको छ।
सूचनामा नगरपालिकाको स्वीकृति बिना निर्माण सामग्रीको उत्खनन, ढुवानी वा व्यापार गरेको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थामाथि प्रचलित कानुन अनुसार कारबाही गरिने स्पष्ट गरिएको छ। साथै, नगरपालिकाको अनुमति लिएर मात्र निर्माण सामग्री सम्बन्धी कार्य गर्न नगरवासी, व्यवसायी तथा सरोकारवालालाई आग्रह गरिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले नगरको वातावरण संरक्षण, प्राकृतिक स्रोतको दिगो उपयोग तथा कानुनी शासन कायम गर्न सबैको सहयोग आवश्यक रहेको भन्दै नियम उल्लङ्घन गर्ने जो–कोहीलाई छुट नदिइने बताउनुभएको छ ।
नगरपालिकाले सूचनालाई गम्भीरतापूर्वक पालना गर्न सबैलाई अनुरोध गर्दै आगामी दिनमा अनुगमन अझ प्रभावकारी बनाइने जनाएको छ।



