आर्को मुखर्जीको प्रस्तुतीमा झुम्यो हेल्मेट डाँडा, नगरकोट भ्रमण वर्ष प्रवर्द्धनमा बुद्धिकृष्ण लामिछाने साँझ ऐतिहासिक, हजारौँ दर्शकको उत्साहपूर्ण सहभागिता

हेल्मेट डाँडा, १३ पौष: आइतबार साँझ ठीक नौ बज्न लाग्दा चाँगुनारायण नगरपालिका–७ तपादम्फो (हेल्मेड डाँडा) को खुला मैदानमा चिसो झन् बढ्दो थियो। तर चिसोभन्दा पनि तातो थियो—सङ्गीत, सम्झना र भावनाले भरिएको माहोल। हजारौँ दर्शकहरू स्वर्गीय राष्ट्रिय लोकगायक बुद्धिकृष्ण लामिछानेको स्मृतिमा आयोजित ‘बुद्धिकृष्ण लामिछाने साँझ–२०८२’ मा झुमिरहेका थिए।

चाँगुनारायण नगरपालिकाले सञ्चालन गरिरहेको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को विशेष अवसर पारेर आयोजना गरिएको यो सांगीतिक साँझ केवल श्रद्धाञ्जली मात्र रहेन, नगरकोट क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि एक प्रभावकारी सांस्कृतिक उत्सवको रूपमा स्थापित भयो।

भारतीय चर्चित गायक आर्को मुखर्जी (Arko Mukheerjee) ले ‘पिँढीमा बसेर मेरै बाटो हेरेर, मेरी आमा रुँदी हुन् मलाई सम्झेर’ बोलको गीतलाई रिमिक्स शैलीमा प्रस्तुत गर्दा खुला मैदान नाच्ने रंगशालामा परिणत भयो। चिसो रात, खुला आकाश र लोकसंगीतको मिठासले हजारौँ दर्शकलाई एकै लयमा बाँध्यो।

दिउँसो १ बजेदेखि सुरु भएको कार्यक्रम राति अबेरसम्म चलिरहँदा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आएका हजारौ दर्शकहरूको उपस्थिति रह्यो। ऐक्य हामी ब्याण्ड, कोमल ओली, विक्रम सुवाल, लोकगायक सानु केसी, सविता ढुङ्गाना, कपिल कसपाल, सूर्यमणि आचार्य, सविना केसीलगायत दर्जनौँ कलाकारहरूले स्व. लामिछानेका अमर गीतहरू र आफ्ना चर्चित प्रस्तुति दिए।

‘घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर’, ‘गाई त बाँध्ने पाटको दाम्लो’, ‘बाखरी बाखरी बाँध्ने डोरीले मैले के गर्नु’ जस्ता गीतहरू गुञ्जिँदा दर्शकहरू भावविभोर भए। संगीतले केवल मनोरञ्जन मात्र दिएन, स्व. लामिछानेको योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउने काम पनि गर्‍यो।

कार्यक्रमको उद्घाटन गर्दै वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले कलाकार राष्ट्रका गहना भएको उल्लेख गर्दै बुद्धिकृष्ण लामिछाने आफ्ना गीतमार्फत सधैँ जीवित रहने बताउनुभयो। उहाँले यस्ता स्रष्टा तथा कलाकारलाई देशको अमूल्य सम्पत्तिको रूपमा संरक्षण र सम्मान गर्नुपर्नेमा जोड दिनुभयो।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरकोट भ्रमण वर्षको सन्दर्भमा आफ्नै माटोका कलाकारको सम्झनामा आयोजना गरिएको यो कार्यक्रमले कला, संस्कृति र पर्यटनलाई एकैसाथ प्रवर्द्धन गरेको बताउनुभयो। “आलोचना होइन, एकताबाट मात्रै विकास सम्भव छ,” उहाँको भनाइले कार्यक्रमको भाव झल्कायो।

वडा नं. ७ का अध्यक्ष श्याम कृष्ण नायजुले बुद्धिकृष्ण लामिछाने केवल स्थानीय कलाकार नभई सम्पूर्ण देशकै सम्पत्ति भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले नगरकोट र चाँगुनारायणलाई सांस्कृतिक गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका संयोजक तथा वडा नं ७ का वडा सदस्य श्यामकाजी नयाजुले कार्यक्रम भब्य रुपमा सफल भएकोमा खुसी ब्यक्त गर्नुहुँदै सहयोगी सबैमा धन्यवाद ज्ञापन गर्नु भएको छ ।

यस अवसरमा स्व. लामिछानेलाई मरणोपरान्त रु. ५१ हजार नगद पुरस्कारसहित सम्मान गरियो। उहाँकी धर्मपत्नी दुर्गादेवी लामिछानेलाई दोसल्ला ओढाएर सम्मानपत्र र चेक हस्तान्तरण गरियो। साथै, गायक लामिछानेको जीवन र योगदान समेटिएको जीवनी पुस्तिकाको विमोचनसमेत गरिएको थियो।

कार्यक्रम स्थलमा स्थानीय उत्पादन, परिकार र विभिन्न स्टलहरू राखिँदा पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्यो। सांस्कृतिक साँझसँगै स्थानीय अर्थतन्त्र चलायमान बनाउने यो प्रयास नगरकोट भ्रमण वर्षको मूल लक्ष्यसँग प्रत्यक्ष जोडिएको देखिन्थ्यो।

संगीत, स्मृति र पर्यटनलाई एउटै मञ्चमा जोड्न सफल ‘बुद्धिकृष्ण लामिछाने साँझ–२०८२’ ले नगरकोट भ्रमण वर्षलाई भावनात्मक र सांस्कृतिक उचाइमा पुर्‍याएको छ। चिसो रातमा तातो बनेको हेल्मेड डाँडाको यो उत्सव, नगरकोटलाई केवल दृश्य होइन—अनुभूतिको गन्तव्य बनाउने यात्राको सुन्दर अध्याय बनेको छ।