ताथली, १६ पौष — चाँगुनारायण नगरपालिका वडा नं. ९, ताथलीको आयोजनामा ‘खुल्ला बाँसुरी बाजा प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ। नागरकाेट भ्रमण वर्ष २०८२ लाई सफल बनाउन सांस्कृतिक कार्यक्रमको रूपमा प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगिता वडा नंं ९ स्थित फैढोका आधारभूत विद्यालयमा माघ १६ गते (शुक्रबार) हुनेछ। प्रतियोगितामा बाँसुरी बाजा खेल्ने समूह, भजन तथा विभिन्न संघ–संस्थाहरूले सहभागिता जनाउन सक्नेछन्।
सहभागिताका लागि दर्ता शुल्क रु. १,००० तोकिएको छ। दर्ता गर्ने अन्तिम मिति २०८२ माघ ११ गते आइतबार रहेको छ। आयोजकका अनुसार प्रतियोगितामा बढीमा २० टोली मात्र सहभागी गराइनेछ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई प्रथम पुरस्कार रु. २५,०००, द्वितीय पुरस्कार रु. १५,०००, तृतीय पुरस्कार रु. १०,००० र सान्त्वना पुरस्कार रु. ५,००० सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।
आयोजक समितिले सबै सहभागी समूहलाई मायाको चिनोका रूपमा मादल र प्रमाणपत्र प्रदान गरिने जनाएको छ। आयोजकले इच्छुक समूह तथा संस्थालाई समयमै दर्ता गर्न आग्रह गरेको छ ।
तस्विर :ऐक्यम संस्कृत बाजा खल


