ख्यातिप्राप्त कलाकारहरूको आकर्षक प्रस्तुति रहने
चाँगुनारायण, १२ पौष — चाँगुनारायण नगरपालिका–७ मा स्वर्गीय लोकगायक बुद्धिकृष्ण लामिछानेको स्मृतिमा भोलि आइतबार (पौष १३ गते) विशेष स्मृति सांस्कृतिक साँझ आयोजना हुने भएको छ।
स्थानीय कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको यो कार्यक्रम वडा नं. ७ स्थित हेल्मेट डाँडा (तपा डम्पो) मा दिउँसो १ बजेदेखि सुरु हुनेछ।
नेपाली लोकगीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका स्व. बुद्धिकृष्ण लामिछानेको सम्झनामा आयोजना हुन लागेको यस कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको आकर्षक प्रस्तुति रहने आयोजकले जनाएको छ।
कार्यक्रम संयोजक श्यामकाजी नायजुका अनुसार अन्तर्राष्ट्रिय स्तरमा चर्चित गायक आर्को मुखर्जीको विशेष प्रस्तुति रहनेछ भने ताथलीको माझीभैरव बाँसुरी खलबाट उत्कृष्ट बाँसुरी वादन प्रस्तुत गरिनेछ। यसैगरी, ताथली धिमय् खलको धिमय् नाच तथा धिमय् वादन र भक्तपुरको उदाउँदो सांगीतिक समूह ‘एकाय’को प्रस्तुति पनि कार्यक्रमको प्रमुख आकर्षण रहनेछ।
सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिसँगै कार्यक्रममा स्थानीय सांस्कृतिक समूहहरूद्वारा परम्परागत नाच, झाँकी प्रस्तुत गरिनेछ भने स्थानीय उत्पादन तथा परिकारका स्टलहरूसमेत रहनेछन्।
आयोजकका अनुसार कार्यक्रममा हजारौँ दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले स्व. बुद्धिकृष्ण लामिछाने लोकगायक मात्र नभई समाजका पीडा, गाउँको यथार्थ र आम नेपाली जीवनका संवेदनशील कथावाचक भएकोले नगरकाेट भ्रमण बर्षको अबसरमा साझ आयोजना गरिएको बताउनुभयो ।
चाँगुनारायण नगरपालिका वडा नं. ७ को आयोजनामा तथा चाँगुनारायण नगरपालिकाको सहकार्यमा हुन लागेको यस कार्यक्रमको व्यवस्थापन बाला इभेन्ट्स एण्ड लन्च सर्भिसेज प्रा. लि. ले सम्हालेको छ।
नगरपालिकाले यस्ता सांस्कृतिक कार्यक्रममार्फत ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाले सम्पन्न चाँगुनारायण क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिएको छ।


