दुवाकोट, ८ पौष : चाँगुनारायण नगरपालिकाको आयोजनामा सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालयस्तरीय खेलकुद प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ ।

प्रतियोगितामा नगरभित्रका संस्थागत तथा सामुदायिक गरी ३५ विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थी खेलाडी सहभागी थिए । प्रतियोगितामा १० विभिन्न खेल विधा समावेश गरिएको थियो ।

यस प्रतियोगितामा चाँगुनारायण नगरपालिका वडा नं. २ मा अवस्थित ऋतम्भरा पाठशालाले खेलकुद क्षेत्रमा आफ्नो उल्लेखनीय प्रगति प्रस्तुत गरेको छ । पाठशालाले ४ स्वर्ण, ३ रजत र ८ कास्य गरी जम्मा १५ पदक जित्दै समग्र सातौँ स्थान हासिल गर्न सफल भएको हो ।

तेक्वान्दो खेलतर्फ छात्रा यू–४२ केजीतर्फ तुलसा तामाङ तृतीय भइन् भने छात्र यू–५१ केजीतर्फ पुष्कर बहादुर तामाङ प्रथम हुन सफल भए ।

भलिबलतर्फ छात्रा टिम तृतीय स्थानमा रह्यो । टिममा अवि खत्री, युनिशा बुढाथोकी, पूर्वी खड्का, निन्मा राई, निशा बस्नेत, लक्ष्मी कार्की, आँचल पराजुली, आर्जु बराल र साहारा कार्की सहभागी थिए । त्यसैगरी, छात्र भलिबल टिम पनि तृतीय हुन सफल भयो । टिममा अल्बर्ड थापा मगर, भिषण भट्टराई, आशिष लुइँटेल, रिजन राय, ईश्वर कार्की, सुजल खड्का, आयुष चौहान, संयोग अधिकारी र रोजेन बस्नेत सहभागी थिए ।

उसु खेलतर्फ छात्रा वर्गमा एलिना राई द्वितीय र छात्र वर्गमा कोशिष कार्की तृतीय भए । नानछ्वान विधामा छात्रा तर्फ निन्मा राई द्वितीय र छात्र तर्फ अभिमन्यु श्रेष्ठ तृतीय भए । थायन्चीछ्वान छात्रा तर्फ प्रजीशा अधिकारी प्रथम भइन् । त्यस्तै, छात्र यू–४५ सान्सौ तर्फ रोशन थापा मगर प्रथम र निरोज सुनुवार तृतीय भए भने छात्र यू–४८ सान्सौ तर्फ शिशिर परियार प्रथम भए । यस विधामा ऋतम्भरा पाठशाला समग्र बेस्ट टिम घोषित भयो ।

ब्याडमिन्टन खेलतर्फ यू–१२ छात्रमा आशिष लुइँटेल प्रथम भए । यू–९/१२ छात्रा तर्फ अवि खत्री तृतीय भइन् भने छात्र टिम द्वितीय स्थानमा रह्यो ।

फुटसल खेलतर्फ छात्र टिमले द्वितीय स्थान हासिल गर्यो । यस खेलमा लक्ष्मी कार्की बेस्ट गोलकिपर घोषित भइन् ।

खेल प्रतिस्पर्धासँगै आयोजित मार्चपास कार्यक्रममा पनि ऋतम्भरा पाठशालाका विद्यार्थीको प्रदर्शन उत्कृष्ट रह्यो । यस वर्षदेखि पहिलो पटक गरिएको मूल्यांकनमा पाठशालाले द्वितीय स्थान हासिल गर्न सफल भयो । समापन समारोहमा पाठशालाका विद्यार्थीले प्रस्तुत गरेको सांस्कृतिक नृत्य कार्यक्रमले सबैको ध्यान आकर्षित गर्यो ।

समग्रमा, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ऋतम्भरा पाठशालाले हासिल गरेको नतिजाले विद्यालयको खेलकुद क्षेत्रमा निरन्तर प्रगति, अनुशासन र विद्यार्थीको प्रतिभा विकास स्पष्ट रूपमा देखाएको छ ।





