खरीपाटी, पौष, १ : चाँगुनारायण नगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालयस्तरीय बृहत खेलकुद प्रतियोगिता भव्य रूपमा सुरु भएको छ।

“एक घर, एक खेलाडी उत्पादन” गर्ने दीर्घकालीन लक्ष्यका साथ नगरपालिकाले गत वर्षदेखि राष्ट्रपति रनिङ शिल्डसँगै विद्यालयस्तरीय बृहत खेलकुद प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ।

प्रतियोगिताको औपचारिक उद्घाटन नगरप्रमुख जीवन खत्रीले झण्डोत्तोलन गर्दै गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख खत्रीले खेलकुदले विद्यार्थीहरूको शारीरिक मात्र नभई मानसिक र नैतिक विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

नगरप्रमुख खत्रीले भन्नुभयो, “खेलकुद अनुशासन, आत्मविश्वास र नेतृत्व विकासको आधार हो। ‘एक घर, एक खेलाडी उत्पादन’ हाम्रो नारामात्र होइन, चाँगुनारायणका बालबालिका र युवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने स्पष्ट योजना हो। नगरपालिकाले आगामी दिनमा खेल पूर्वाधार र अवसरलाई अझ विस्तार गर्दै लैजानेछ।”

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठ, वडा नं. ६ का अध्यक्ष धन बहादुर लामा, विभिन्न राजनीतिक दलका प्रतिनिधिको तर्फबाट नरेश खड्का लगायतले मन्तव्य राख्नुभएको थियो।

त्यस्तै शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख जनार्दन रिजाल, शिक्षा विकास तथा समन्वय इकाइ भक्तपुर प्रमुख कमला ज्ञवाली, तथा जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष राजु थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम खेलकुद समिति संयोजक रघु केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नगरस्तरीय प्रतिनिधि, वडा अध्यक्षहरू, कार्यपालिका तथा नगरसभा सदस्य, शिक्षक महासंघ, पत्रकार महासंघ भक्तपुर, विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी, खेलाडी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रम सञ्चालन रञ्जना सापकोटा र अनुपा लामिछानेले गर्नुभएको थियो।

गएको तीन वर्षयता श्रीकृष्ण माध्यमिक विद्यालयले राष्ट्रपति रनिङ शिल्ड लगातार उपाधि जित्दै आएको छ। नियमअनुसार एउटै विद्यालयले लगातार तीन पटक उपाधि जितेपछि मात्र शिल्ड स्थायी रूपमा प्रदान गरिने परम्परा रहेकाले यस वर्षका लागि नयाँ राष्ट्रपति रनिङ शिल्ड निर्माण गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा ३५ विद्यालयका २ हजार ६० भन्दा बढी विद्यार्थी खेलाडी सहभागी छन्। कबड्डी, भलिबल, सितोरियो कराते, उसु, तेक्वान्दो, एथलेटिक्स, क्रिकेट, ब्याडमिन्टन, बास्केटबल र फुटसल लगायतका खेलहरू समावेश गरिएका छन्। छात्र तथा छात्रा दुवै समूहको उत्साहजनक सहभागिता रहेको आयोजकको भनाइ छ।

प्रतियोगिताको औपचारिक समापन पुष ६ गते गरिने जनाइएको छ। नगरपालिकाले खेलकुदमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकास गर्ने उद्देश्यका साथ प्रतियोगितालाई आगामी वर्षहरूमा अझै विस्तार गर्दै निरन्तरता दिने जनाएको छ।



