चाँगुनारायणमा स्व. बुद्धिकृष्ण लामिछाने स्मृति साँस्कृतिक साँझ हुँदै


चाँगुनारायण मंसिर, २९ : चाँगुनारायण नगरपालिका–७ मा स्व. बुद्धिकृष्ण लामिछाने स्मृति साँस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। स्थानीय कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको उक्त कार्यक्रम यहि पौष १३ गते आयोजना गरिन लागेको हो ।

कार्यक्रम चाँगुनारायण नगरपालिका वडा नं. ७ स्थित हेल्मेट डाँडा (तपा डम्पो) मा आयोजना गरिनेछ। स्व. लामिछाने नेपाली लोकगीत क्षेत्रमा योगदान पुर्‍याएका लोकप्रिय गायकका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँको स्मृतिमा आयोजना हुन लागेको यस कार्यक्रममा देशका चर्चित लोकगायक–गायिकाबाट गीत–संगीत प्रस्तुति हुने आयोजकले जनाएको छ।

कार्यक्रमको मुख्य उद्देश्य स्थानीय कलाकारहरूको पहिचान र प्रोत्साहन गर्नु, युवाहरूलाई सिर्जनशील अवसर प्रदान गर्नु, आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुका साथै दिगो पर्यटन अभ्यासलाई अघि बढाउनु रहेको छ।

चाँगुनारायण क्षेत्र ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाले सम्पन्न क्षेत्र हो। नगरपालिकाले यस्ता सांस्कृतिक कार्यक्रममार्फत क्षेत्रको पर्यटन विकासमा थप टेवा पुग्ने विश्वास लिएको छ।

कार्यक्रमको आयोजना चाँगुनारायण नगरपालिका वडा नं. ७ ले गर्नेछ भने चाँगुनारायण नगरपालिका को सहकार्य रहनेछ। कार्यक्रम व्यवस्थापनको जिम्मेवारी बाला इभेन्ट्स एण्ड लन्च सर्भिसेज प्रा. लि. ले लिएको छ।

आयोजकका अनुसार उक्त स्मृति साँस्कृतिक कार्यक्रमले स्व. बुद्धिकृष्ण लामिछानेप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै चाँगुनारायणको कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।