चाँगुनारायण नगरपालिकाको पहिलो चौमासिकमा ६ करोड ५५ लाखभन्दा बढी राजस्व संकलन (भिडियो रिपोर्टसहित)

खरीपाटी : चाँगुनारायण नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिक अवधिमा आन्तरिक राजस्व संकलनमा उल्लेखनीय प्रगति हासिल गरेको छ। साउनदेखि कात्तिकसम्मको चार महिनामा कर र अन्य स्रोतहरूबाट ६ करोड ५५ लाखभन्दा बढी रकम संकलन भएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका राजस्व शाखा अधिकृत गोविन्द कुमार कट्टेलका अनुसार, संकलित रकम २३ विभिन्न शीर्षकहरू मार्फत उठाइएको हो। सबैभन्दा बढी रकम सिफारिस दस्तुरबाट संकलन भएको छ, जसको राशि २ करोड ५१ लाख ६० हजार ७०४ रुपैयाँ रहेको छ।

नगरपालिकाले भूमि तथा मालपोत करवापत ७५ लाख ५२ हजार, बहाल करवापत ७३ लाख, व्यवसाय रजिष्टेसन दस्तुरवापत ६७ लाख ५४ हजार, नक्सापास दस्तुर वापत ५५ लाख ७२ हजार र सम्पत्ति करवापत १० लाख ४ हजार रुपैयाँ संकलन भएको छ।

नगरपालिकाले संकलित रकमलाई विकास योजना र जनताको हितमा चलिरहेका कार्यक्रमहरूलाई तीव्रता दिन प्रयोग गर्ने विश्वास व्यक्त गरेको छ। प्रशासनले पारदर्शिता र जवाफदेहितामा जोड दिँदै आगामी समयमा राजस्व संकलन अझ प्रभावकारी बनाउने प्रतिबद्धता पनि जनाएको छ।

विशेषज्ञहरूले यस उपलब्धिलाई स्थानीय तहको आर्थिक सुदृढीकरण र समृद्धितर्फको महत्वपूर्ण कदम भएको बताउँदै, यसले नागरिकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने यात्रामा नयाँ उत्साह थप्ने विश्वास व्यक्त गरेका छन्।