मूलपानी (चाँगुनारायण): नेपाल इन्जिनियरिङ कलेज (NEC) मा विश्वकै सबैभन्दा ठूलो प्राविधिक तथा इन्जिनियरहरूको संस्था ‘इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इञ्जिनियर्स (IEEE)’ को विद्यार्थी शाखा स्थापना गरिएको छ।

आइतबार कलेज परिसरमा आयोजित कार्यक्रममा कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारी र आईईईईका डा. अरूण कुमार तिमल्सिनाले संयुक्त रूपमा शाखाको उद्घाटन गर्नुभयो।

कलेजका प्राचार्य भण्डारीले आईईईई विद्यार्थी शाखा स्थापना भएपछि कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई प्राविधिक नवप्रवर्तन, अनुसन्धान, नेतृत्व क्षमता र व्यावसायिक सीप विकासमा ठूलो सहयोग पुग्ने बताउनुभयो।

उहाँका अनुसार, आईईईईको माध्यमबाट विद्यार्थीहरूले कार्यशाला, सेमिनार, प्रतियोगिता र विभिन्न प्राविधिक कार्यक्रमहरूमा सहभागी हुने मात्र होइन, विश्वव्यापी स्रोत, मार्गदर्शन र नेटवर्कसँग पनि जोडिन पाउनेछन्। यसले उनीहरूको शैक्षिक तथा व्यावसायिक क्षमतामा थप वृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा आईईईई नेपाल सेक्सनका प्रमुख डा. अरूण कुमार तिमल्सिनाले आईईईईले विश्वभरका अनुसन्धानकर्ता, शैक्षिक विज्ञ, उद्योग तथा सरकारी संस्थानका प्राविधिक विशेषज्ञहरूलाई एउटै प्लेटफर्ममा ल्याउने संस्थान भएकाले यसको प्रत्यक्ष लाभ नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरूलाई मिळ्ने बताउनुभयो।

उहाँका अनुसार आईईईई शाखा सञ्चालन भएर विद्यार्थीहरूले विद्युत शक्ति प्रणाली, इलेक्ट्रोनिक्स तथा सञ्चार, नवीकरणीय ऊर्जा, औद्योगिक स्वचालनलगायत क्षेत्रहरूमा सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान प्राप्त गर्ने अवसर पाउनेछन्। यसले उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन मद्दत गर्ने डा. तिमल्सिनाले उल्लेख गर्नुभयो।









