राजनीतिक नेतृत्व कुनै व्यक्तिको नाम मात्र होइन, त्यो एक सोच, दर्शन र जिम्मेवारीको प्रतिनिधित्व पनि हो। नेतृत्व सशक्त भए मात्रै संस्था सबल बन्छ, अनि संस्था सबल भए मात्रै देश समृद्ध बन्न सक्छ। तर नेतृत्वको सशक्तताको आधार अन्धभक्ति होइन—चेतनशीलता, आलोचनात्मक समर्थन र आन्तरिक लोकतन्त्र हो।
आजको राजनीतिक परिवेशमा कार्यकर्ताको भूमिकालाई सही ढंगले परिभाषित गर्नु अत्यावश्यक छ। नेतृत्वलाई सजग र उत्तरदायी बनाइराख्ने जिम्मेवारी कार्यकर्ताकै काँधमा हुन्छ। पार्टीका हरेक तहमा बनाइएका समितिहरू, छलफलका मंचहरू र संस्थागत संरचनाहरू नेतृत्वलाई गन्तव्यबाट विचलित हुन नदिने संयन्त्र हुन्। यिनको सक्रियता नै स्वस्थ संगठनको पहिचान हो।
जब पार्टी वा नेतृत्व कुनै कठिन मोडमा पुग्छ, त्यस्तो बेला कार्यकर्ताले रक्षा गर्नु धर्म हो। विचार, सिद्धान्त र संगठनप्रति समर्पण जनाउनु कार्यकर्ताको जिम्मेवारी हो। तर यसका बीचमा एउटा स्पष्ट र सूक्ष्म रेखा छुट्याउनु जरुरी छ—त्यो हो निष्ठा र अन्धभक्ति बीचको।
नेतृत्वको सही निर्णयमा समर्थन गर्नु, गल्तीमा सुझाव दिनु र संकटमा साथ दिनु निष्ठा हो भने अन्धभक्ति भनेको नेताको हरेक निर्णयलाई सही मान्नु, आलोचना गर्नेलाई शत्रु ठान्नु, र प्रश्न उठाउने संस्कृतिको विरोध गर्नु।
यही अन्धभक्त प्रवृत्तिले आज धेरै पार्टीहरूलाई व्यक्ति केन्द्रित बनाइदिएको छ। संगठनभित्र संस्थागत प्रणालीभन्दा पनि व्यक्तिको वचनले निर्णायक भूमिका खेल्न थालेको देखिन्छ। यसले संगठनलाई क्षणिक त शक्तिशाली देखाउँछ तर दीर्घकालीन रूपमा खोक्रो बनाइदिन्छ।
राजनीतिक नेताहरूलाई देवताको रूपमा प्रस्तुत गरिनु, उनीहरूको आलोचना अस्वीकार्य ठानिनु, आलोचकहरूलाई दुश्मनको सूचीमा राखिनु, अनि सबै कुरा नेताजीले भनेको त्यसैले ठीक भन्ने मानसिकता विकास हुनु—यी सबै प्रवृत्तिहरू लोकतन्त्रको क्षयको संकेत हुन्।
यसरी नेताहरूको देवत्वकरण गर्दा उनीहरू आफैं पनि उत्तरदायित्वहीन बन्ने खतरा बढ्छ। नेतृत्व आलोचनाबाट सुध्रिन्छ, सुझावबाट सन्तुलित हुन्छ र स्वस्थ प्रतिस्पर्धाबाट उत्कृष्ट हुन्छ। जब त्यस्ता मौलिक तत्त्वहरू हराउँछन्, तब संगठन अधिनायकवादी प्रवृत्तिमा फस्न थाल्छ।
अबको आवश्यकता अन्धभक्त कार्यकर्ता होइन, चेतनशील कार्यकर्ता हो। जो विचारमा दृढ छ, तर आँखामा पट्टी बाँधेको छैन। जो नेतृत्वको साथमा उभिन्छ, तर आवश्यक परे प्रश्न गर्न पनि जान्दछ।
हामीले याद गर्नुपर्छ—राजनीतिक दल कुनै एक व्यक्तिको निजी संस्था होइन। त्यो हजारौं लाखौं कार्यकर्ता, समर्थक र आमजनताको साझा सपना हो। त्यो सपना साकार पार्न हामीले नेतृत्वलाई मार्गदर्शन दिन पनि जान्नुपर्छ ।
राजनीतिक संस्कार सुधार्ने हो भने नेतृत्वलाई सजग राख्ने संयन्त्रहरू बलियो बनाउनुपर्छ। कार्यकर्ताले अनुशासित तर स्वाभिमानी भूमिकामा रहनुपर्छ। हाम्रो निष्ठा संगठन र विचारप्रति हो, व्यक्ति वा पदप्रति मात्र होइन।
नेतृत्वप्रति श्रद्धा राखौं तर सँगसँगै चेतना पनि जगेर्ना गरौं। किनभने अन्धभक्तिहरूले संगठन निर्माण गर्दैनन्—उनीहरू केवल आवाज विहीन अनुयायी उत्पादन गर्छन्। र त्यो कुनै पनि दल वा देशको हितमा हुँदैन।


