भक्तपुर, २४ चैत : भक्तपुर क्षेत्र नम्बर १ का सांसद रुकेश रञ्जित र स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताबीच आज मंगलबार मन्त्रालयमा महत्वपूर्ण भेटघाट तथा छलफल भएको छ।
भेटघाटमा भक्तपुरका विभिन्न स्वास्थ्य तथा खानेपानी आयोजनाका विषयमा विस्तृत रूपमा कुराकानी भएको थियो।

छलफलका प्रमुख एजेण्डाहरूमा नगरकोट मुहानपोखरीस्थित महादेव खोला जलाशय खानेपानी आयोजना, दुवाकोटमा निर्माण गर्ने भनिएको विस्तारित वीर अस्पताल, शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर क्यान्सर अस्पताल तथा ती संस्थाहरूलाई समेटेर स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने प्रस्ताव रहेका थिए।
छलफलका क्रममा मन्त्री मेहताले महादेव खोला जलाशय खानेपानी आयोजनाको अध्ययन कार्य तत्काल सुरु गरिने बताउनुभयो।
उहाँले बजेटको चापका कारण आगामी आर्थिक वर्षमा नयाँ योजनाभन्दा अधुरा तथा पुराना योजनालाई प्राथमिकता दिइने उल्लेख गर्दै विस्तारित वीर अस्पताल निर्माणका लागि समयसीमा र प्रतिवेदनसहित कार्ययोजना अघि बढाइने जानकारी दिनुभयो।
अन्य प्रस्तावित योजनाहरूका सम्बन्धमा आवश्यक अध्ययन गरी थप निर्णय लिने पनि मन्त्रीले स्पष्ट पार्नुभयो।

