कमेरोटार जग्गा आयोजनामा देखिएका बेथिति अन्त्य गर्छु : सांसद राजीव खत्री

भक्तपुर, २७ चैत : मध्यपुरस्थित कमेरोटार जग्गा एकीकरण आयोजना २२ वर्षदेखि अलपत्र पर्दा स्थानीयवासी समस्यामा परेका छन्। वर्षायाममा डुबान, खानेपानी अभाव र अव्यवस्थाका कारण जनजीवन प्रभावित बन्दै आएको छ।

भक्तपुर क्षेत्र नम्बर २ का सांसद राजीव खत्रीसंग आज आयोजित भेटघाट कार्यक्रममा स्थानीयवासीहरूले एक स्वरमा “आयोजना भ्रष्टाचारको अखडा बन्यो” भन्दै आक्रोश व्यक्त गरे ।

सांसद खत्रीले कमेरोटारको समस्या समाधानतर्फ सरकार गम्भीर रहेको बताउनुभयो।

“आयोजनाले जनतालाई दुःख होइन, राहत दिनुपर्छ,” उहाँले भन्नुभयो, “सरकारको लक्ष्य सुशासन हो, त्यसलाई अनुवर्ती गर्दै कमेरोटारबासीले चाँडै अनुभूति गर्ने वातावरण बनाउनेछौँ।”

उहाँले आयोजनामा देखिएका बेथिति र ढिलासुस्ती अन्त्य गर्दै प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।