नगरकोटमा ‘चाँगुनारायण नगर कप फुटबल’ प्रतियोगिता हुने, खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य

भक्तपुर(नगरकोट) – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ ‘चाँगुनारायण नगर कप–२०८२’ फुटवल प्रतियोतिगा आयोजना गरिने भएको छ । वडा नंं ६ स्थित माउण्ट एभरेष्ट खेल मैदान नगरकोटमा आयोजना गरिन लागिएको हो ।

नगरकोट भ्रमण वर्ष २०८२ लाई सफल पार्न र स्थानीय खेलकुदलाई सशक्त बनाउने उद्देश्यले माउण्ट एभरेष्ट युथ क्लव नगरकोटको आयोजनामा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा चाँगुनारायण नगरपालिकाको सहयोग र नगर खेलकुद विकास समितिको समन्वय र सहकार्य रहेको छ।

आयोजक माउण्ट एभरेष्ट युथ क्लबले प्रतियोगितामार्फत स्थानीय खेल प्रतिभाको पहिचान र प्रोत्साहन गर्नुका साथै पर्यटन र सामाजिक सद्भाव अभिवृद्धि गर्ने लक्ष्य लिएको छ। खेलकुदका माध्यमबाट नगरवासीबीच एकता र भाईचारा सुदृढ बनाउने प्रयास गरिएको आयोजक संस्थाले जनाएको छ।

“कृषि, पर्यटन र सामाजिक पूर्वाधार, समृद्ध चाँगुनारायणको मूल आधार” भन्ने नारासहित अघि बढाइएको प्रतियोगिता नगरको सामाजिक, सांस्कृतिक र आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

स्थानीय युवा खेलाडीहरूको उत्साहजनक सहभागिता रहने प्रतियोगिताले खेलकुद क्षेत्रमै भविष्य खोजिरहेका नयाँ पुस्तालाई प्रेरणा दिने अपेक्षा गरिएको छ। नागरकोटको हरियाली र मनोरम वातावरणबीच सञ्चालन हुने खेलहरूले नगरको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने आयोजकको विश्वास छ।

प्रतियोगिता असोज २२ गतेदेखि सुरु हुनेछ । प्रतियोगितामा नगरका विभिन्न युवा समूह र फुटबल क्लबहरूले सहभागिता जनाउने भएका छन्।