
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले सरकारी निकायमा हुने अनियमितता र भ्रष्टाचारप्रति अब कठोर कदम चाल्नुपर्ने बेला आएको बताउनु भएको छ । नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिसिङले देशमा सुशासन स्थापित गर्नु अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको बताउनुभयो। उहाँले राज्यका कुनै पनि निकायमा अनियमितता, बेथिति वा भ्रष्ट आचरण देखिए तुरुन्त कारबाही हुने स्पष्ट पार्नुभयो।
कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “अब सम्झौता हुँदैन, कसैले बेथिति गर्यो भने उसलाई कानुन अनुसार कारबाही हुन्छ। न चेतावनी दिइन्छ, न मौका—सीधा कारबाही हुन्छ।”
उहाँका अनुसार युवापुस्ताले स्वच्छ, इमानदार र पारदर्शी प्रणालीको माग गर्दै आएको छ । यो मागप्रति सरकार गम्भीर रहेको छ। देशभित्रै बसेर देशको सेवा गर्न चाहने युवा पुस्तालाई प्रेरित गर्न सुशासन अपरिहार्य भएको उहाँले बताउनुभयो।
मन्त्री घिसिङले यसअघिका त्रुटिहरू दोहोरिन नदिन चेतावनी दिँदै भन्नुभयो, “अब पनि त्यही प्रवृत्ति दोहोरियो भने ठूलो विद्रोह आउन सक्छ, जसले कसैलाई पनि नछाड्न सक्छ।”
प्राधिकरणभित्र सुशासन कायम गर्न आफूले पहिल्यैदेखि जोड दिँदै आएको स्मरण गराउँदै उहाँले अब कोही पनि अनुशासन बाहिर जान नपाउने वातावरण बनाइने स्पष्ट पार्नुभयो।
जनताको सेवामा लापरवाही र अनियमितता अब सह्य नहुने भन्दै उहाँले कर्मचारी र सम्बन्धित निकायलाई जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिनुभयो।