
काठमाडौं । निर्वाचन आयोगले हालै अध्यादेशमार्फत जेनजीलाई लक्षित गरी मतदाता नामावली संकलनको प्रक्रिया सुरु गरेको छ। आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै आयोगले देशभर मतदाता नामावली दर्ता अभियान सञ्चालनमा ल्याएको हो।
आयोगका अनुसार १६ वर्ष उमेर पूरा गरेका र नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकहरूले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूमा पुगेर आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन सक्नेछन्।
नामावली दर्ता प्रक्रिया सार्वजनिक बिदाबाहेक हरेक दिन बिहान ८ः०० बजेदेखि बेलुकी ६ः०० बजेसम्म सञ्चालन हुनेछ।
जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले ताजा जनादेशका लागि आगामी फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरिसकेको छ। निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली संकलन स्वतः स्थगित हुने कानुनी प्रावधान रहेकाले, आयोगले त्यसअघिसम्मका दिनलाई लक्षित गर्दै अभियान अघि बढाएको हो।
राजनीतिक परिवर्तनमा सक्रिय भूमिका निर्वाह गरेका थुप्रै युवाहरू अझै मतदाता नामावलीमा सूचीकृत नभएको अवस्था रहेकाले, उनीहरूका लागि कानुनी अवरोध हटाउन सरकारले हालै मात्र विशेष अध्यादेश जारी गरेको हो।
आयोगका अनुसार, यस संकलन तथा अद्यावधिक अभियानमा नयाँ मतदाता नाम दर्ता, बसाइँ सरेका वा विवाहपछि स्थान परिवर्तन गरेका मतदाताले ठाउँसारी गर्न सक्ने, साथै नाम, उमेर वा अन्य विवरणमा त्रुटि भएमा सच्याउने व्यवस्था समेत मिलाइएको छ।