
भक्तपुर, भदौ १९ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शिक्षा विकास तथा समन्वय इकाई, भक्तपुरले शहीद तथा द्वन्द्वपीडित परिवारका बालबालिकाहरूका लागि छात्रवृत्तिको आवेदन खुला गरेको छ। कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालन गरिने छात्रवृत्ति कार्यक्रममा सहभागी हुन इच्छुक विद्यार्थीहरूका लागि आवेदन प्रक्रिया प्रारम्भ गरिएको जनाएको हो ।
यस कार्यक्रमले द्वन्द्वका कारण शिक्षा प्राप्तिमा असर पुगेका बालबालिकाहरूलाई प्रोत्साहन गर्न र उनीहरूको शिक्षामा पहुँच सुनिश्चित गर्न उद्देश्य लिएको छ।
विद्यार्थीहरूले आवश्यक कागजातहरू तयार पारेर सम्बन्धित विद्यालयमार्फत आवेदन दिनुपर्नेछ। विद्यालयहरूले विद्यार्थीहरूको विवरण संकलन गरी सिफारिससहित भक्तपुरको शिक्षा विकास तथा समन्वय इकाईमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। निवेदन आगामी मंसिर मसान्त सम्म बुझाउनुपर्नेछ ।
छात्रवृत्तिका लागि आवेदन दिन चाहने विद्यार्थीहरूले आफ्ना शैक्षिक, नागरिकता, नातासम्बन्धी र द्वन्द्वपीडित वा शहीद प्रमाणित गर्ने आधिकारिक कागजातहरू संलग्न गर्नुपर्नेछ। साथै, विद्यार्थीको नाममा सञ्चालन गरिएको बैंक खाताको चेक पनि आवेदनसँगै बुझाउनुपर्नेछ।
शिक्षा विकास तथा समन्वय इकाई, भक्तपुरका प्रमुख कमला ज्ञवालीले छात्रवृत्ति कार्यक्रमले शिक्षामा सबैको समान पहुँच सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले सम्पूर्ण विद्यालयहरूलाई तोकिएको समयसीमाभित्र आवेदन संकलन गरी बुझाउन पनि आग्रह गर्नुभएको छ।
साथै, भक्तपुर, मध्यपुरथिमी, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका सम्बन्धित शाखाहरूलाई समेत सूचना पठाई छात्रवृत्ति प्रक्रियालाई थप समन्वयात्मक र प्रभावकारी बनाउन आग्रह गरिएको छ ।
