
भक्तपुर, साउन ३० — चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले चाँगुनारायणले शिक्षा क्षेत्रमा पछिल्लो समय उल्लेखनीय काम र प्रगति गरेको बताउनु भएको छ । संस्थागत विद्यालयको छाता संगठन प्याब्सन भक्तपुरद्वारा आयोजित ‘जनप्रतिनिधिसँग विद्यार्थी’ साक्षात्कार कार्यक्रममा सो कुरा बताउनु भएको हो ।

नगर प्रमुख खत्रीले भन्नुभयो, ”हामीले शिक्षा क्षेत्रमा थुप्रै कामको थालनी गरेका छौं, यदि बाँकी कार्यकालमा ती कामहरू पूरा गर्न सक्यौं भने चाँगुनारायणलाई शैक्षिक दृष्टिले उदाहरणीय नगर बनाउनेछौं।”

दिवा खाजामा थप सहयोग
नगर प्रमुख खत्रीले सरकारबाट दिइने १५ रुपैयाँको दिवा खाजामा थप १५ रुपैयाँ थपेर कुल ३० रुपैयाँ पुर्याइएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “बालबालिकाको पोषण सुधारका लागि नगरपालिकाले दिवा खाजामा थप योगदान गर्दै आएको छ।”
सामुदायिक विद्यालयप्रति जनविश्वास बढ्दै
खत्रीका अनुसार चाँगुनारायणमा हाल ३४ वटा सामुदायिक र ४१ वटा संस्थागत विद्यालय सञ्चालनमा छन्। सामुदायिक विद्यालयहरूमा करिब ७ हजार २५६ जना विद्यार्थी अध्ययनरत छन् भने संस्थागततर्फ ८ हजार २२३ सय विद्यार्थी रहेका छन्। उहाँले भन्नुभयो, “अहिले सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु भएपछि विद्यार्थी संख्या दिन प्रतिदिन बढिरहेका छन्, जनविश्वास कायम हुन थालेको छ।”
गुणस्तरीय शिक्षाको लागि ठोस लगानी
‘सामुदायिक विद्यालयलाई सबैको रोजाइ र भरोसाको केन्द्र बनाउने हाम्रो लक्ष्य हो’, नगर प्रमुख खत्रीले भन्नुभयो। उहाँका अनुसार नगरपालिकाले वार्षिक नीति, कार्यक्रम र बजेटमार्फत शिक्षा क्षेत्रमा ठूलो धनराशी विनियोजन गर्दै आएको छ। भौतिक पूर्वाधार, शैक्षिक सामग्री, प्रशासनीक सुधार र शिक्षक समस्याको समाधान गर्दै गुणस्तर अभिवृद्धि गर्न निरन्तर प्रयास भइरहेको खत्रीले स्पष्ट पार्नुभयो।
उच्च शिक्षा विस्तारतर्फ चाँगुनारायणको कदम
नगरप्रमुख खत्रीका अनुसार चाँगुनारायणमा हाल तीनवटा कलेज सञ्चालनमा छन्— सामुदायिक श्रीकृष्ण बहुमुखी क्याम्पस र संस्थागत नेपाल इन्जिनियरिङ कलेज तथा काठमाडौं मेडिकल कलेज। उहाँले भन्नुभयो, “श्रीकृष्ण क्याम्पसको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ, अब बहुवर्षीय योजना लागू गरेर सो क्याम्पसलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।”
स्थानीय पाठ्यक्रम, स्काउट र पुस्तकालय
उहाँले विद्यालयहरूमा स्थानीय ज्ञान, सीप र नैतिक शिक्षालाई समेटेर स्थानीय पाठ्यक्रम निर्माणको योजना अगाडि बढाइएको जानकारी दिनुभयो। साथै, “एक वडा, एक सिकाइ केन्द्र” को अवधारणा अनुसार सिकाइ केन्द्र स्थापना, विद्यालयमा ई(पुस्तकालय स्थापना र स्काउट कार्यक्रमको विस्तारसमेत भइरहेको उहाँको भनाइ थियो।
छात्रवृत्ति, सेनिटरी प्याड र प्रोत्साहन
खत्रीले भन्नुभयो, “हामीले जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, छात्राहरूका लागि गुणस्तरीय सेनिटरी प्याड र उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम निरन्तर रूपमा गरिरहेका छौं।
चाँगुनारायण नगरपालिकाको सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयलमा अध्ययनरत सामान्य परिवारकी गोमा श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा एसईईमा सवोत्कृष्ठ ४ जिपीए ल्याएको उदाहरण दिनुहुँदै पछिल्लो समय नतिजामा समेत सुधार आइरहेको स्पष्ट पार्नुभयो ।
अतिरिक्त क्रियाकलपमा जोड
नगर प्रमुख खत्रीले शिक्षा केवल किताबी ज्ञानमा सीमित नरहेर व्यवहारिक, मनोवैज्ञानिक र अतिरिक्त गतिविधिमा समेत केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो। उहाँले स्काउट, खेलकुद र अतिरिक्त क्रियाकलाप विस्तारमा अझ ध्यान दिने प्रतिबद्धता समेत जनाउनुभयो।
निजी क्षेत्रको सहयोग आवश्यक
नगर प्रमुख खत्रीले शिक्षा क्षेत्रमा अझै पनि निजी क्षेत्रको लगानी आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले चाँगुनारायणका ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक सम्पदाको अवलोकनमार्फत विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “हामीले थुप्रै कामको सुरुवात गरेका छौं, ती योजना सफलतापूर्वक कार्यान्वयन गर्न सक्यौं भने शिक्षा क्षेत्रमा ठूलो परिवर्तन सम्भव छ।”