
चाँगुनारायण (छालिङ), साउन २९ — गीताचार्य भगवान् श्रीकृष्णको विराट स्वरूपको एकशिलामा निर्मित भव्य श्रीमूर्तिको तीनदिने हवन पूजा तथा प्राणप्रतिष्ठा विधि आजदेखि विधिवत रूपमा शुभारम्भ भएको छ।
चाँगुनारायण नगरपालिका–५, छालिङस्थित गोकुलधामको मच्छेनारायण एवं श्रीकृष्णवर्तेश्वर महादेव मन्दिर परिसरभित्र स्थापना गरिएको यस ऐतिहासिक श्रीमूर्तिको पूजन, हवन र प्राणप्रतिष्ठाको कार्य आज शुभसाइतमा सुरु भएको मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष नारायणप्रसाद पुरीले जानकारी दिनुभयो।
चाँगुनारायण नगरपालिकाको सहकार्यमा वडा नं. ५ कार्यालय, श्री मच्छेनारायण, श्रीकृष्णवर्तेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिको आयोजनामा सम्पन्न भइरहेको यस धार्मिक अनुष्ठान अन्तर्गत तीन दिनसम्म वैदिक र तान्त्रिक विधिपूर्वक विशेष पूजा, होम तथा हवन गरिनेछ।

वडाध्यक्ष जयन्द्र खड्काका अनुसार तीन दिनसम्म तान्त्रिक विधिबाट पूजा सम्पन्न गरिनेछ। श्रावण ३१ गते, श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सात जना ब्राह्मण पण्डितहरूद्वारा मूर्तिमा प्राणप्रतिष्ठा सम्पन्न गरिनेछ।
त्यसैदिन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँद्वारा मूर्तिको औपचारिक उद्घाटन गरिनेछ। साथै श्री श्री १००० महामण्डलेश्वर सरिता गिरी, भक्तपुर क्षेत्र नं २ का माननीय सांसद दूर्लभ थापा, नगरप्रमुख जीवन खत्री, उप–प्रमुख रमेश बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर श्रेष्ठ तथा सयौं श्रद्धालु र स्थानीय बासिन्दाको उपस्थितिमा विराट श्रीकृष्ण श्रीमूर्तिको अनावरण गरिने कार्यक्रम तय गरिएको छ।
यस किसिमको विराट श्रीकृष्ण मूर्ति यसअघि भारतमा मात्र रहेको र नेपालमा पहिलोपटक निर्माण भएको हुँदा यसले नेपालको धार्मिक र ऐतिहासिक गौरवलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ।
नगर प्रमुख जीवन खत्रीका अनुसार नगरकोट भ्रमण वर्ष २०८१ को अवसर पारेर आयोजना गरिएको यस कार्यक्रमले चाँगुनारायण क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउनेछ। उहाँले भन्नुभयो, ‘यो मूर्ति केवल धार्मिक दृष्टिले मात्र होइन, सांस्कृतिक र पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण सम्पदा बन्नेछ। ओझेलमा परेको हाम्रो मौलिक सम्पदा पुनः उजागर हुँदैछ।’

४१२ वर्षअघि अर्थात् विसं १६६९ मा स्थापना गरिएको मच्छेनारायण तथा श्रीकृष्णवर्तेश्वर महादेव मन्दिर परिसरमा निर्मित यस विराट मूर्तिमा विभिन्न देवी–देवताका मूर्तिहरू समेत समावेश गरिएका छन्। विशेषतः महाभारत युद्धका बेला अर्जुनलाई रथमा बसी श्रीकृष्णले दिएको गीता उपदेशको अद्वितीय क्षणलाई मूर्तिमा सजीव रूपमा उतारिएको छ।
प्रदेश सरकार तथा चाँगुनारायण नगरपालिकाको बजेट सहयोगमा मन्दिर परिसरभित्र गणेश मन्दिर, ऐतिहासिक शैलीको प्रवेशद्वार, पर्खाल, मल्लकालीन वास्तुकलामा निर्मित पाटी, ६४ शिवलिङ्गसहितका विविध धार्मिक संरचनाहरू निर्माण गरिएको छ। त्रिवेणी कुण्डले यो स्थानलाई अझ पवित्र बनाएको छ, जहाँ बिभिन्न पर्वहरूमा विशाल मेला लाग्ने परम्परा रहिआएको छ।