
भक्तपुर (चाँगुनारायण), साउन २३ : स्वास्थ्य सेवा सबैका लागि भन्ने नारालाई व्यवहारमा उतार्दै चाँगुनारायण नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत तथा अक्सिजन सेवा उपलब्ध गराउने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ।
नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा भक्तपुरसँग नयाँ आर्थिक वर्ष २०८२/८३ का लागि निःशुल्क रगत वितरण सम्बन्धी औपचारिक सम्झौता गरेको हो।
नगर प्रमुख जीवन खत्री र रेडक्रस भक्तपुर शाखाका सभापति परशुराम पाण्डे बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख दिल कुमार दुवाल, रेडक्रसका महामन्त्री धर्मराज कार्की लगायतको उपस्थिति रहेको थियो।
नगरप्रमुख खत्रीको नेतृत्वमा निर्वाचीत नयाँ जनप्रतिनिधिले चाँगुनारायण नगरपालिकामा नेपालमै पहिलोपटक योो सेवा सुरुआत गरेको हो। नगरपालिकाका अनुसार अभियान सुरु भएको समयदेखि हालसम्म करिब २ हजार बिरामीले निःशुल्क रगत सेवा प्राप्त गरिसकेका छन्।
रगत निःशुल्क प्राप्त गर्नका लागि बिरामीका आफन्तले बिरामीको स्थायी ठेगाना भएको परिचय खुल्ने आधिकारिक परिचयपत्र र सम्बन्धित अस्पतालका चिकित्सकको रगत आवश्यकता रहेको सिफारिसपत्र पेस गरेको आधारमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराइँदै आएको छ । बिरामीलाई रेडक्रसले निःशुल्क उपलब्ध गराएको रगतको शुल्क नगरपालिकाले सोधभर्ना गरि रकम वार्षिक रुपमा रकम उपलब्ध गराइँदै आएको छ ।