सुडाल: चाँगुनारायण नगरपालिका क्षेत्रभित्र धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यसहित १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

नगरपालिकाका प्रमुख जीवन खत्रीले चालू आर्थिक वर्षभित्रै मूर्ति निर्माण कार्य सम्पन्न गरिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

१३ औँ नाग पञ्चमीको अवसरमा कलमसीस्थित कल्पेश्वर महादेव तथा कालिका देवी मन्दिर संरक्षण समाजद्वारा आयोजित विशेष रुद्री पूजाका क्रममा बोल्दै मेयर खत्रीले चाँगुनारायण क्षेत्रलाई तपोभूमिका रूपमा चिनाउँदै यहाँको धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वको संरक्षण गर्दै विकासमा जोड दिइएको उल्लेख गर्नुभयो ।

विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरदेखि कल्पेश्वर महादेव मन्दिरसम्मको सम्पूर्ण क्षेत्रलाई धार्मिक पर्यटन गन्तव्यको रुपमा विकास गर्न नगरपालिकाले नगरकोट भ्रमण वर्ष २०८२ को घोषणा गरेको स्पष्ट पार्नुभयो ।

नगर प्रमुख खत्रीका अनुसार तीनै तहका सरकारसँगको सहकार्यमा मूर्ति निर्माण कार्यले पूर्णता पाउने छ । उहाँले १३ वर्षअघिदेखि आरम्भ गरिएको निर्माण योजनामा अब परिणाममुखी उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, साउन महिना आरम्भसँगै चाँगुनारायण क्षेत्रका शिवालयहरूमा मेला र धार्मिक अनुष्ठानहरू सुरु भएका छन् । बागेहिटीस्थित त्रिलोकेश्वर महादेव मन्दिरमा महायज्ञ सञ्चालन भइरहेको छ । धार्मिक आस्थासँग जोडिएका यी कार्यहरूले चाँगुनारायण क्षेत्रलाई देशकै महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य बनाउने नगर प्रमुख खत्रीको भनाइ छ ।





