
झौखेल । चाँगुनारायण नगरपालिकाले नगरभित्र सञ्चालित खानेपानी उद्योगहरूको अनुगमनलाई तीव्र बनाउँदै लगेको छ । झौखेल क्षेत्रका पाँच वटा निजी पानी उद्योगमाथि बिक्री वितरणमा प्रतिबन्ध लगाएसँगै अनुगमनलाई तीब्र बनाउँदै लगेको हो ।

पानीको गुणस्तर मापदण्ड नपुगेको, कानुनी प्रक्रिया नपु¥याएको र उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गुणस्तरहीन पानी बिक्री वितरण भएको पाइएपछि उद्योगमाथि कडाइ गरिएको हो।

नगरपालिकाले वडा नं ३ स्थित झौखेलमा सञ्चालन भइरहेका पाँचवटा पानी उद्योगलाई बिक्री वितरणमा रोक लगाएपनि बिक्री वितरण जारी राखेको पाइएपछि तालाबन्दी समेत गरेको छ ।

कोलिफार्म भेटिएपछि पाँचवटा खानेपानी उद्योगलाई बिक्री वितरण गर्न प्रतिबन्ध लगाइएको थियो । तर बिक्री वितरण नरोकिएपछि उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीको नेतृत्वमा गएको प्रशासन, उपभोक्ता मञ्च तथा उद्योग वाणिज्य संघको संयुक्त अनुगमन टोलीले उद्योगहरूमा तालाबन्दी गरेको हो ।

उप्रमुख एवं अनुगमन समितिका संयोजक बुढाथोकीको अध्यक्षतामा बसेको समितिको बैठकले झौखेलमा सञ्चालनमा रहेका पाँच खानेपानी उत्पादन उद्योग पानी बिक्री वितरण गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

अनुगमन टोलीले एसएन टप वेभरेज प्रालि, भक्तपुर नेचुरल ड्रिङ्किङ्ग वाटर प्रालि, एक्वाराज पानी, ओके मिनरल वाटर प्रालि, झौखेल उच्च वेभरेज प्रालि जय छुमागणेश र कर्णाली मिनरल वाटर प्रालि का पानी उद्योगमा स्थलगत अनुगमन गरेको थियो ।

अनुगमणका क्रममा भक्तपुर नेचुरल वाटर प्रालिबाहेकका ५ वटा कम्पनीलाई पानी बिक्री वितरणमा रोक लगाएको थियो । पाँचवटा कम्पनीले सोमबार भित्र ल्याब टेस्ट रिपोर्ट नगरपालिकामा पेस गरेपछि नगरपालिकले पुन पानी परिक्षण गरेपछिमात्रै बिक्री खुल्ला गर्ने भनीएको थियो । तर आइतबार बिहानदेखि नै बन्द उद्योग भित्रबाट पानी बिक्री भएको पाइएपछि पुन अुनगमण गरिएको हो।

उपप्रमुख बुढाथोकीले नगरपालिकाको निर्णयलाई वेवास्था गर्दै खुल्लमखुला बिक्रीवितरण गरेको पाइएपछि तालाबन्दी गरिएको बताउनुभयो । उपप्रमुख बुढाथोकीले गुणहस्तरहीन पानी विक्री वितरण गर्न अनुमति दिन नसकिने बताउनुहुँदै अब अन्य उद्योगहरूमा पनि अनुगमन कडाइका साथ गर्ने बताउनुभयो ।

यस्तै अनुगमन टोलीले आइतबार वडा नंं २ र ३ का थप पाँचवटा उद्योगको अनुगमण गरी पानीको नमुना संकलन गरी परिक्षणका लागि ल्याएको छ ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, चाँगुनारायण नगरपालिका वडा नं २ का वडाध्यक्ष सोध प्रधान, अनुगमन शाखा प्रमुख सन्तोषी नेपाली, राजस्व शाखा प्रमुख गोकुल कार्की, खानेपानी , सरसफाई तथा स्वच्छता (वास ) शाखा प्रमुख सुरेन्द्र लामिछाने, उपभोक्ता मञ्च तथा उद्योग वाणिज्य संघका प्रतिनिधि, प्रहरी र नगर प्रहरीसहितको सहभागिता थियो ।