चाँगुनारायण नगरपालिकाले खानेपानी उत्पादन गर्ने उद्योगहरुमा गर्‍यो अनुगमन, गुणस्तर परीक्षणका लागि अनिवार्य ल्याबको व्यवस्था गर्न निर्देशन

झौखेल: चाँगुनारायण नगरपालिकाले वडा नंं ३ मा सञ्चालित खानेपानी उत्पादन गर्ने उद्योगहरूको स्थलगत अनुगमन गरेको छ । नगरपालिकाको अनुगमन टोलीले सोमबार खानेपानी उत्पादन गर्ने उद्योगहरुमा अनुगमन गरेको हो ।

अनुगमन प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठको नेतृत्वमा वडाध्यक्ष श्याम सुन्दर धिमाल, सामाजिक विकास महाशाखा प्रमुख निलम घिमिरे, अनुगमन शाखा प्रमुख सन्तोषी नेपाली, खानेपानी सरसफाई तथा स्वच्छता शाखा प्रमुख सुरेन्द्र लामिछाने, नगर प्रहरी, उद्योग वाणिज्य संघका प्रतिनिधि र अन्य सम्बन्धित शाखाका प्रतिनिधिहरू सहभागि हुनुहुन्थ्यो ।

टोलीले अनुगमनका क्रममा उत्पादन प्रक्रियामा देखिएका कमजोरीहरूलाई सुधार्न आग्रह गरेको छ ।

टोलीले पानी भर्ने जारहरूको गुणस्तरमा विशेष ध्यान दिन, ७ दिनभित्र अनिवार्य रूपमा नगरपालिकामा दर्ता प्रक्रिया पूरा गर्न, उत्पादन स्थल र वरपरको सरसफाइ सुनिश्चित गर्न, कम्पनीको दर्ता तथा नवीकरण गर्न र पानीको स्वच्छता र गुणस्तर परीक्षणका लागि ल्याबको व्यवस्था अनिवार्य गर्न सुझाव दिएको छ ।