
खरीपाटी : चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमका लागि राय सुझाव संकलन गर्ने कार्य शूरु गरेको छ ।

पहिलो चरणमा सहकारी, गैर सरकारी संघसंस्था तथा उपभोक्ता समितिसँग सुझाव संकलन कार्यक्रमको आयोजना गरिएको छ ।

शुक्रबार नगरपालिकामा आयोजित कार्यक्रममा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आगामी आर्थिक वर्षको लागि सुझाव संकलन गर्ने कार्यको थालनी गरिएको बताउनुभयो ।

उहाँले विगतमा नपरेका र छुटाउनै नहुने राम्रा कामका सम्बन्धमा नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयलाई नगरपालिकासमक्ष सुझाव दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँले नगरपालिकाले विकास निर्माण कार्यलाई निरन्तर जारी राखेको बताउनुहुँदै चालु आर्थिक वर्षका योजनाहरु कार्यान्वयनको चरणमा रहेको बताउनुभयो ।

उहाँले वडाबाट आउने बजेट भन्दा फरक विषय भए सिधै नगरपालिकामा पेश गर्न आग्रह गर्नुभयो ।

योजना शाखा प्रमुख तथा नगरपालिकाका सूचना अधिकारी अनुप लामिछानेले नगरपालिकाले आगामी आर्थिक वर्षदेखि साना आयोजनालाई निरुत्साहित गर्ने र ठूला आयोजनालाई प्राथमिकता दिने नीति अनुशरण गर्न लागेको जानकारी गराउनुहुँदै ईमेल वा लिखित रुपमा पनि योजना शाखामा आफ्ना सुझाव दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागि प्रतिनिधिहरुले आआफ्नो सुझाव पेश गर्नु भएको थियो ।



