
नगरकोट : चाँगुनारायण, मण्डन देउपुर, बनेपा र शंखरापुर नगरपालिकाले संयुक्त रुपमा आयोजना गरिएको नगरकोट भ्रमण वर्ष २०८२ को शूरुवाती कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।

नगरकोटको बतासेडाँडामा एक भब्य समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १ गते औपचारिक रुपमा समुद्घाटन गर्नुभएको पहिलो चरणको तीन दिने कार्यक्रम भब्यताका साथ सम्पन्न भएको हो । कार्यक्रममा पर्यटक तथा स्थानीयको उत्साहजनक सहभागिता रह्यो ।

तीन दिनमा एक लाख भन्दा बढी पर्यटकको आगमन भएको अनुमान गरिएको छ । यही वैशाख १ गतेदेखि सुरु भएको ‘नगरकोट भ्रमण वर्ष २०८२’ मा पहिलो दिन उद्घाट, दोस्रो र तेस्रो दिन विविध साँस्कृतिक कार्यक्रमहरु गरिएको थियो ।

पर्यटकीय क्षेत्र नगरकोटमा एक वर्षमा एक लाख बाह्य र १० लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । तर तीन दिनमै सोचेभन्दा पनि बढी पर्यटकको आगमनले पर्यटन ब्यवसायी उत्साहीत बनेका छन् ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आफू निर्वाचीत भएर आएपछि भएको पहिलो निर्णय कार्यान्वयन गर्न पाएकोमा गौरवान्भित महसुस भएको बताउनुभयो । २०७९ सालमा मेयर खत्रीको नेतृत्वमा नयाँ जनप्रतिनिधि निर्वाचीत भएपछि बसेको पहिलो कार्यपालिका बैठकले नगरकोट भ्रमण वर्ष २०८२ मनाउने निर्णय भएको थियो ।

मेयर खत्रीले शूरुवाती कार्यक्रम सोचेभन्दा पनि भब्यताका साथ सम्पन्न भएको बताउनुभयो । मेयर खत्रीले राम्रो काममा सबैको सहयोग मिल्ने रहेछ भन्ने पुष्टि भएकोमा सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।

भ्रमण वर्ष उद्घाटन स्थल बतासे डाँडामा ६० वटा स्टलमा स्थानीय खानाका परिकार, घरेलु उत्पादनलगायत सामग्री बिक्रीका लागि राखिएको थियो भने वैशाख २ गते सोही स्थानमा इन्द्रेणी सांस्कृतिक समूहले भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

आज तेस्रो तथा उद्घाटन कार्यक्रमको समापनका दिन गायक प्रकाश सपुत र स्थानीय सांस्कृतिक समूहले धमेकादार प्रस्तुती गरेका थिए । नगरकोट भ्रमण वर्ष १२ महिना नै चल्नेछ ।

समापन कार्यक्रमा मण्डन देउपुर नगरपालिकाका नगर प्रमुख टोक बहादुर बाईवा र बनेपाका नगर प्रमुख शान्ति रत्न शाक्यले भ्रमण वर्षको शूरुवाती कार्यक्रममा उत्साहजनक सहभागिताले सबैलाई हौसाएको र आगामी कार्यक्रम तत्काल छलफल गरि तय गरिने बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी र मण्डन देउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले शूरुवाती कार्यक्रम जस्तै वर्षभरिका कार्यक्रममा सहयोग गर्न सबैमा आग्रह गर्नुभयो ।

कार्यक्रममा शंखरापुर नगरपालिकाकी उपप्रमुख समिता श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँ, भ्रमण वर्ष २०८२ का फोर्कल पर्सन तथा विज्ञ डां घनश्याम खतिवडा, नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङ, चाँगुनारायण नगरपालिका वडा नंं ६ का वडाध्यक्ष धन बहादुर लामालगायत वडाध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।

भ्रमण वर्षका क्रममा वर्षभरि चारवटै पालिकाले प्रत्येक महिनामा कम्तीमा एउटा संयुक्त रूपमा नगरकोट केन्द्रित पर्यटक लक्षित कार्यक्रम सञ्चालन गर्ने र सबै पालिकाले आफ्ना नगरहरूमा पनि पर्यटकीय गन्तव्य बनाउने गरी थप कार्यक्रम वडास्तरबाट सञ्चालन गर्ने योजना बनाएका छन् ।

भ्रमण वर्षले चारवटै पालिकाको ऐतिहासिक सम्पदा, कला, संस्कृति, प्राकृतिक सौन्दर्यता, विभिन्न जातीय चाडपर्व, यहाँका उत्पादनलगायत सम्पूर्ण क्षेत्रका बारेमा स्वदेशी तथा विदेशी पर्यटकलाई जानकारी दिने र लुकेर रहेका पर्यटकीय क्षेत्रलाई उजागर गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यलाई पूरा गर्ने विश्वास लिइएको छ ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय र नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा भएको भ्रमण वर्ष नगरकोट क्षेत्रको प्रकृति, संस्कृति र ऐतिहासिक सम्पदालाई प्रचारप्रसार गर्ने उद्देश्य रहेको छ । साथै नगरकोटलाई औपचारिक पर्यटकीय क्षेत्र घोषणा गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने लक्ष्य समेत राखिएको छ ।




















